असार पहिलो साताभित्र चुनाव सम्भव छः पूर्व आयुक्तहरु


चैत३ काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुले असारको पहिलो साताभित्र संविधानसभाको निर्वाचन गर्न सम्भव रहेको बताएका छन् । दलहरुले बास्तवमै निर्वाचन चाहेको हो भने निर्वाचन गराउन कुनै अप्ठ्यारो नरहेको उनीहरुको भनाई छ ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा निवर्तमान निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले यसअघि सरकारले घोषणा गरेको मंसिर र बैशाखको निर्वाचनको लागि निर्वाचन आयोगले तयारी गरिरहेकोले असार पहिलो साता भित्र निर्वाचन सम्भव रहेको बताउनु भयो । उहाँले भन्नुभयो-’निर्वाचन आयोग तयार नै छ । हामिले मंसिरमै निर्वाचन हुन्छ भनेर तयारी गरेका थियौं । त्यो मितिमा हुन सकेन । त्यसपछि सरकारले बैशाखमा भन्यो, त्यसको लागि पनि हामिले तयारी जारी राखेका थियौ । त्यसैले पनि असारमा पहिलो साता गर्न सकिन्छ ।’
यदपी उहाँले १० देखि ५ बजे सम्मको काम नभनी युद्ध स्तरमा दिनरात काम गर्नु पर्ने र दलहरुको सहयोगको आवश्यक पर्ने बताउनु भयो । छुटेका मतदाताहरुलाई सूचीमा समावेश गर्न सकिने भन्दै उहाँले निर्वाचनको लागि मतदान केन्द्र बढाउनु पर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षक समितिका संयोजक समेत रहेका पूर्व निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठले दलहरुकै सहमतिमा सरकार गठन भएकोले असारमा निर्वाचन गर्न सम्भव रहेको बताउनु भयो । यद्यपी उहाँले विरोधमा भएका दलहरुलाई साथ लिनु पर्ने, तत्कालै निर्वाचन आयोगमा पदाधिकारी नियुक्त गर्नु पर्ने बताउनु भयो ।
पूर्व निर्वाचन आयक्त प्रोफेसर विरेन्द्र मिश्रले दलहरुले चाहे घोषित मितिमै निर्वाचन गर्न सम्भव रहेको बताउनु भयो । आफूहरुले माओवादी द्वन्द्वकालको कठिन अवस्थामा समेत निर्वाचन गराएको स्मरण गर्दै अहिले मुलुकमा द्वन्द्व नभएको र दलहरु निर्वाचनको पक्षमा रहेको बेला निर्वाचन नहुने कुनै कारण नहुने तर्क गर्नुभयो ।

0 comments

बिचार लेख्नुहोस्..