मतदान अधिकृतहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम सुरु
मुगु न्युज डट कम,
मुगु २० कार्तिक --------------
आगामी मंसिर चार गते हुने संविधान सभाको निर्वाचनका लागि जिल्ला भरिका ५६ वटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि मतदान सम्बन्धि दुई दिने प्रशिक्षण कार्यक्रम बुधवार देखि सुरु भएको छ ।
सदरमुकाम गमगढीमा सुरु भएको प्रशिक्षण कार्यक्रममा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरेर ६० जना सहभागि भएका छन । मतदान अधिकृत र सहायक मतदान अधिकृत एक सय १२ जना मध्य पहिलो चरणमा ६० जना र बाँकिका लागि शुक्रबार र शनिवार कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।
मतदान गर्ने समयमा मतदान केन्द्रमा आई पर्ने सम्पुर्ण समस्या समाधान गरि मतदान प्रक्रियालाई सहज रुपमा सम्पन्न गर्ने उदेश्यले आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा सहभागि भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले अनुशासन र आचरणमा रहेर संविधान सभाको निर्वाचनको लक्ष्य प्राप्त गर्न कर्तव्यनिष्ठ हुन अनुरोध गरे ।
संविधान सभा निर्वाचन बहिष्कारमा उत्रेको शक्तिले कुनै हालतमा निर्वाचनलाई अबरोध पु¥याउन नसक्ने गरि सुरक्षा व्यवस्था मिलाईएको भन्दै प्रमुख जिल्ला अधिकारी गिरीले निर्वाचनमा खटिने कर्मचारीलाई ढुक्क भएर तोकिएको क्षेत्रमा जान समेत निर्देशन दिए ।

0 comments
बिचार लेख्नुहोस्..