५६ मतदान केन्द्रमा एक जना मात्र मतदान अधिकृत महिला
मुगु न्युज डट कम,
कार्तिक २३ मुगु-----------
आगामी मंसिर चार गते हुने संविधान सभा निर्वाचनका लागि जिल्लाका २४ वटा गाविसमा कायम गरिएका ५६ वटा मतदान केन्द्रहरुमा एक जना मात्र महिला मतदान अधिकृत रहेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।
जिल्लाका ५६ वटा मतदान केन्द्रहरुका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत गरेर एक सय सोह्र जना खटाईने भए पनि त्यसमा महिलाहरुको संख्या सात जना मात्र रहेको छ । सात जना महिला मध्य एक जना मतदान अधिकृत र ६ जना सहायक मतदान अधिकृत महिला रहेको जिल्ला निर्वाचन अधिकारी बावुराम घिमिरेले जानकारी दिए । मतदान अधिकृतका लागि शाखा अधिकृत वा नायब सुब्बा स्तरको कर्मचारी हुनु पर्ने र सहायक मतदान अधिकृतका लागि खरिदार देखि माथिको तह हुनु पर्ने भए पनि जिल्लाका सरकारी कार्यालयहरुमा महिला कर्मचारीको संख्या कम रहेकाले मतदान अधिकृत र सहायक मतदान अधिकृतमा महिलाको संख्या पनि कम रहेको जिल्ला निर्वाचन अधिकारी घिमिरेले बताए ।
मतदान अधिकृत र सहायक मतदान अधिकृत गरेर १ सय १६ जनालाई मतदान सम्बन्धि तालीम समेत दिईसकिएको कार्यालयले जनाएको छ । शनिवारसम्म सबैलाई तालीम प्रदान गरिएको र २७ गतेबाट टाढाका मतदान केन्द्रमा टोली खटाईने भएको छ । अर्को तर्फ विहिबार देखि भएको वर्षा र हिमपातका कारण जिल्लाको पुर्वि भेकका केहि मतदान केन्द्रमा निर्वाचनका लागि टोलि खटाउन समस्या देखिएको कार्यालयको भनाई छ । हिमपातका कारण समस्या देखिएका करान क्षेत्रका मुगु, डोल्फु, किम्री र पुलु गाविसका मतदान केन्द्रमा टोली कसरी पठाउन सकिन्छ भनेर निर्वाचन आयोगसँग कुरा भईरहेको तथा सम्भव भएसम्म हेलिकप्टरको व्यवस्था गर्न पहल गरिने जिल्ला निर्वाचन अधिकारी घिमिरेको भनाई छ । शनिवार मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई मतदान प्रक्रिया सम्बन्धि तालीमका क्रममा नमुना मतदान गरेर तालीम समापन गरिएको छ ।

0 comments
बिचार लेख्नुहोस्..