जिल्लाको पुर्वि भेकमा हिमपात सुरु
मुगु न्युज डट कम ,,,
कार्तिक २२ मुगु---------------------
जिल्लाको पुर्वि भेकमा गए राती देखि चिसो बढेसंगै हिमपात हुन थालेको छ । हिमपात हुन थालेपछि त्यस क्षेत्रका मतदान केन्द्रहरुमा मतदान गर्न समस्या हुने देखिएको छ ।करान भेकका मुगु, डोल्फु, किम्री र पुलु गाविसका केहि मतदान केन्द्रमा चिसो र हिमपातका कारण मतदान प्रक्रिया प्रभावित हुन सक्ने सम्भावना बढेको छ । विगतका वर्षहरुमा मुगु, डोल्फु, किम्री गाविसका स्थानीयवासीहरु चिसो सुरु हुने समय आउन थालेपछि कार्तिक महिना देखि तातो हुने स्थानतिर बसाई सर्ने गरेका भए पनि अहिले मंसिर चार गते हुने संविधान सभा निर्वाचनमा मतदान गर्न भन्दै गाउँमा नै बसेका छन ।
यसरी बसाई सर्ने मुगु गाविसका स्थानीयवासीहरु गाउँ देखि तल चार घण्टा लाग्ने पिप्लेडी, शिरानी चौर, सदरमुकाम गमगढी तिर मौसमी बसाई सर्ने गर्दछन । कार्तिकमा गाउँ छोडेका यहाँका स्थानीय वासीहरु वैशाखको पहिलो हप्तामात्र गाउँ फर्किने गर्दछन । चुनावको मुखमा चिसो बढ्न थालेपछि मतदातालाई निर्वाचनमा सहभागि गराउने भन्ने कुनै विकल्प तय नगरिए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले ति क्षेत्रको अनुगमन गरे पछि त्यसको विकल्प आउन सक्ने जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ । चिसोका कारण मतदान प्रक्रियामा कम मतदाता सहभागि हुन सक्ने सम्भावना रहेका मतदान केन्द्रमा मुुगु, चितैं, डोल्फु, किम्री र खारी रहेका छन । शुक्रबार जिल्लाका पुर्वि भेकका माँग्री, रुगा, रोवा, पुलु, किम्री, पुलु, डोल्फु र मुगु गाविसमा वर्षा भएको छ भने ति गाविसका उच्च हिमाली भागमा हिमपात हुँदा चिसो अत्याधिक बढेको छ ।
एक्कासी विहिबार राती देखि बढेको चिसोका कारण सदरमुकाम गमगढीमा समेत जनजिवन प्रभावित हुन थालेको छ । संविधान सभा निर्वाचन सुरक्षाका लागि खटिएका म्यादी प्रहरीलाई बाक्लो कपडा नभएका कारण समस्या परेको छ । म्यादी प्रहरीलाई दिईएको पोसाक निकै पातलो छ भने पोषाकको बाहिर अरु कपडा लगाउन नमिल्ने भएकाले पनि चिसोमा खटिन बाध्य छन । राती बजार गस्तिमा घुम्ने म्यादी प्रहरीलाई रात कटाउन झन कठिन छ ।

0 comments
बिचार लेख्नुहोस्..