नेपालीहरु समुद्रमा हाम्फालेर आत्महत्या गर्नेक्रम बढ्यो
तीन वर्षयता दुबईमा २२५ नेपालीले ज्यान गुमाए
४ चैत, अबुधाबी । वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका नेपालीहरुसमुद्रमा हाम्फालेर आत्महत्या गर्ने क्रम बढेको छ । तीन वर्षयता दुबईमा आत्महत्या र दुर्घटनामा परी ज्यान गुमाउने नेपालीहरुको संख्या २ सय २५ पुगेको छ । यो अवधिमा २९ नेपालीले आत्महत्या गरेका छन् । राम्रो कमाइ गर्ने र परिवारमा सुख सम्वृद्धि ल्याउने उद्देश्यले दुबई आएका नेपालीहरुले सोचेअनुरुप कमाउन नसकेपछि निराश भई आत्महत्या गर्ने क्रम कहालीलाग्दो बनेको दुतावासका कर्मचारीहरु बताउँछन् ।गएको ३ बर्षमा यता २९ नेपालीले आत्महत्या गरेको तथ्य बाहिर आएको छ । यहाँस्थित नेपाली दुतावासले सन् २०१० यता २ सय २५ जनाले ज्यान गुमाएको बताएको छ । यसमध्ये झण्डै दुर्यदर्जनले विरक्तिएर समुद्रमा हामफालेर आत्महत्या गरेका छन् भने केहीले झुण्डिएर त केहीले आफैलाइ छुरा प्रहार गरेर आत्महत्या गरेको जनाइएको छ ।
आत्महत्या गर्नेमध्ये सबैजसोले परदेश आएपछि समस्या समाधान हुनुको सट्टा झन बढ्दै गएपछि आत्महत्या गर्ने गरेको दुतावासका प्रथम सचिव लोकबहादुर क्षेत्री बताउनुहुन्छ ।मृत्यु भएकाहरुको शव नेपाल पठाउने कार्यमा विगत ४ बर्षदेखि खटिरहनुभएका क्षेत्रीका अनुसार आत्महत्याको कारण आर्थिक विाष्यसँगै बढी जोडिने गरेको छ । नेपालमा मेनपावरले भनेबमोजिम विदेशमा तलब नपाएको, सोचेअनुरुप काम नभएको र नेपालमा रहेका आफन्त एवं श्रीमतीले धोका दिएकै कारण अधिकांशले आत्महत्या गर्ने गरेको उहाँ बताउनुहुन्छ ।
दुतावासको तथ्याड्क अनुसार सन् २०१० मा मात्रै १२ जनाले आत्महत्या गरेका छन् । सन् २०१० मा दुबईमा ८८ जना नेपालीले ज्यान गुमाएका थिए । यसैगरी सन् २०११ मा ११ जना र २०१२ मा ५ जना नेपालीले आत्महत्या गरेका छन् ।हजारौ खर्च गरेर र साहुसँग ऋण गरेर विदेश आएकाहरुले कमाइको सट्टा ऋणको ब्याज नै तिर्न मुस्किल परेपछि आत्महत्या गर्ने गरेको राजदुत धनञ्जय झाले बताउनृभयो । राजदूत झाकाअनुसार दुबईमा आत्महत्या गर्ने विदेशीहरु मध्ये नेपाली तेस्रोमा पर्छन् । दुबईमा भारतीय, फिलीपीनी, पाकिस्तानी र बंगलादेशी कामदार धेरै भए पनि र एउटै प्रकृतिको काम गरिरहेको भए पनि नेपालीहरु नै आत्महत्या गर्न बढी उक्सिने गरेको उहाँ बताउनुहुन्छ ।
दुर्घटना अर्को ठुलो समस्या
सडक सवारी नियमको जानकारी कम भएको र जानकारी भए पनि नियम उलंघन गरेकै कारण दुबईमा ३ बर्षमा ७५ जना नेपालीले अनाहकमा ज्यान गुमाएका छन् । दुबइमा सवारी साधन कम्तिमा १ सय देखि १ सय ४० किलो मिटर प्रतिप्रति घण्टा गुढ्ने गर्छ । तर, साँगुरो सडकमा सवार हुनेगरेका तथा विद्युतीय प्रणालीअनुरुप पैदल यात्रा गर्ने र सवारी साधन गुडाउन बानी नपरेका कारण वर्षेनी ठूलो संख्यामा नेपालीहरुले ज्यान गुमाउनु परेको उपनियोग प्रमृख दीपक अधिकारीको भनाइ छ ।
दुतावासका अनुसार सन् २०१० देखि २०१३ सम्म दुबईमा विभिन्न कारणले मृत्यु हुने २ सय २० मध्ये ७५ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । २०१० मा मृत्युभएका कुल ८८ नेपालीमध्ये ३१ जना सडक दुर्घटनामा परेका छन् भने सन् २०११ मा मृत्युभएका ६३ मध्ये २४ जना र सन् २०१२ मा मृत्युभएका कुल ३६ मध्ये १६ नेपाली सवारी दुर्घटनामा परेका छन् । २०१३ को मार्च सम्ममा ४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । दुबईमा झण्डै २ लाख नेपाली कामदार वैधरुपमा कार्यरत् छन् । यी कामदारसँग प्रत्यक्षरुपमा आश्रति झण्डै १० लाख नेपाली छन् ।सन् २००४ देखि २०१३ को मार्च पहिलो सातासम्म दुबईमा ५ सय ३६ जना नेपालीले ज्यान गुमाएका छन् । यी मध्ये ११ जना मात्र महिला छन् । यो तथ्यांक दुबईमा नेपाली दुतावास स्थापना भएदेखिको हो । सन् २०१३ को मार्चसम्म १३ जनाले ज्यान गुमाएका छन्, जसमध्य १ जनाले आत्महत्या, ४ जना दुर्घटना र ८ जनाको प्राकृतिक मृत्यु भएको छ ।
शव सहजै नेपाल पुर्याइने
विभिन्न खाडी मुलुकहरु भन्दा दुबईबाट नेपाल शव सहजरुपमा पुर्याइरहेको दतावासको दाबी छ । राजदुत झाका अनुसार परिवारले चाहेकै बखत शव नेपाल पुर्याउन सकिने बताउँदै कम्पनीमा बहाल रहेका र काननी प्रक्रिया पूरा गरेर आउनेको हकमा कुनै अप्ठ्यारो नपर्ने तर भगौडा एवं कम्पनीबाट छुट्टी लिएर घुमिरहेका हरु दुर्घटनामा परे भने र नेपाल पठाउन गाह्रो हुने झाले बताउनुभयो । तर पीडित परिवारले लास लान चाहेर पनि अरबी विशेष पर्वहरुमा भने शव पठाउन ढीलो हुने गरेको झाको स्वीकारोक्ति छ ।दूतावास कर्मचारीले शव चाँडै नेपाल पुग्ने दाबी गरे पनि सर्लाहीका एक नेपालीको शव परिवारले पाउन डेढ वर्ष लागेको छ । सर्लाहीका ती व्यक्तिको शव ९ महिनापछि मात्रै फेला परेको थियो ।अहिले दुबईमा २ जना नेपालीको शव उठेको छैन । बाराका कुलबहादुर मगरको शब २ महिनादेखि नेपालका रहेका परिवारले पाउन सकेका छैनन् । धेरै नेपालीलाई शव नेपाल पठाउने कार्य दुतावासको नभएको कर्मचारीहरु बताउँछन् । दुतावासले सहकार्यमात्र गर्ने बताउदै प्रथम सचिव क्षेत्रीले भन्नुभयो- ‘बैदेशिक रोजगार प्रवर्द्धन बोर्डले यसमा पहल गर्नुपर्छ ।’
0 comments
बिचार लेख्नुहोस्..