एमाओवादीको केन्द्रीय कमिटीमा तीन पुस्ता समेटिने
'सन्तुलित केन्द्रीय समिति बनाउने तयारी भएको छ,' उनले भने । समितिमा मनोनित गर्दा जातीय, क्षेत्रीय विशेषतालाई पनि ध्यान दिइने उनले बताए । हेटौडा महाधिवेशनले एक सय ५१ सदस्य पूर्ण र आवश्यकता अनुसार वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो ।
महाधिवेशनले पुरानै ९८ जना केन्द्रीय समिति चयन गरेकाले अब ५३ नया अनुहार थपिनेछन् । त्यस्तै एक सय ४८ वैकल्पिक केन्द्रीय सदस्य थपेर २ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने गृहकार्य भइरहेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।
आयोजक समितिका अधिकांश नेता पूर्ण र वैकल्पिक सदस्यमा मनोनित हुनेछन् । करिब साढे तीन सय नेतामध्येबाट थप ५५ पूर्ण र एक सय ४८ वैकल्पिक केन्द्रीय सदस्य चयन गर्नुपर्ने भएकाले बिहीबार कुनै निर्णय भएन । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा राज्य समिति संयोजकहरुको छुट्टाछुट्टै बैठक बसे पनि टुंगोमा पुग्न सकेन । 'योग्यता र कार्यक्षमता भएका नेता छुट्ने छैनन्' महासचिब बोगटीले भने । केन्द्रीय सदस्य मनोनित गर्न महासचिबलगायत नेताहरुले गृहकार्य गरिरहेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठका आआफ्नै गुट छन् । तीनवटै गुटबाट मनोनित गर्नुपर्ने भएकाले विस्तारमा ढिलाइ भएको हो ।
'पार्टी प्रवेश गर्नेलाई स्वागत'
केन्द्रीय समिति बैठकले एमाओवादीमा प्रवेश गर्ने तयारीमा रहेका एमाले पोलिटब्युरो सदस्य रामचन्द्र झा, नेकपा- माओवादी पूर्वकेन्द्रीय सदस्य कृष्णध्वज खड्का, रेखा शर्मा र कुमार दाहाललाई योग्यता अनुसार जिम्मेवारी दिएर स्वागत गर्ने निर्णय गरेको छ । 'त्यसका लागि विशेष कार्यक्रम गर्ने कुरा भएको छ,' प्रवक्ता अग्नि सापकोटाले भने । उनले अन्य पक्षलाई पनि एकतावद्ध हुन बैठकले आग्रह गरेको पनि जानकारी दिए ।
0 comments
बिचार लेख्नुहोस्..