पश्चिम तराईका चार जिल्लामा यौनकर्मीको बिगबिगी
मुगुन्युज डट कम , लम्की (कैलाली) असार 28, पश्चिम तराईका चार जिल्लामा यौनकर्मी महिलाको संख्या दिनानुदिन बढ्दै गएको छ । पश्चिम तराईका कञ्चनपुर, कैलाली, बर्दिया र बाँकेमा झन्डै तीन हजार यौनकर्मी महिला खुलेरै देहव्यापारमा लागेका छन् ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका संयोजक अशोक पाण्डेका अनुसार लम्कीमा १८ जना महिला देहव्यापार गर्दै छन् । कैलाली सदरमुकाम धनगढी र आसपासका क्षेत्रमा ३६८, अत्तरियामा ४३०, टीकापुरमा ६६, चौमालामा १०४, पहलमानपुरमा १५९, महिला देहव्यापार गर्दै आएका छन् ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका संयोजक पाण्डेका अनुसार लम्की क्षेत्रमा यो संख्या अझै बढ्ने भएको छ । यी महिलाहरूले दैनिक देहव्यापार गर्दै आएको स्विकार गरेका छन् । संयोजक पाण्डेले यौन पेसामा लागेका महिलाहरू १६ देखि ४५ वर्षसम्मका रहेको बताउनुभयो ।
यता इलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख हेम शाहीले भने यसबारेमा आफूलाई सूचना आए छापा मार्ने बताउनुभयो । आफूलाई कुनै पनि सूचना नआएको भन्दैं शाहीले सूचना दिन सबैलाई आग्रह गर्नुभयो ।
यौनकर्मी महिलाको संख्या दिनानुदिन बढ्दै गए पनि सम्बन्धित निकाय मौन बसेको स्थानीय बासिन्दाको आरोप छ ।
0 comments
बिचार लेख्नुहोस्..