निरास सदरमुकामका मतदाता — विश्लेषण


सुमन मल्ल,
कार्तिक ९ मुगु-----------
आगामी मंसिर चार गते हुने संविधान सभा निर्वाचनमा सदरमुकाम क्षेत्रका मतदाता निरास देखिएका छन ।
सदरमुकाम गमगढी रहेको गम भेकमा कुनै पनि दलका सशक्त उम्मेदवार चुनावी प्रतिस्पर्धामा नपरे पछि यस क्षेत्रका मतदातामा निरासा देखिएका हुन । २०५६ सालको संसदिय निर्वाचन देखि राजनितीक पद सदरमुकाम बाहिर गएका र अहिले हुने संविधान सभाको निर्वाचनमा कुनै दलका उम्मेदवार नभए पछि मतदाता निरास देखिएका छन ।
राजनितिक दल तथा तिनका भातृ संगठनका मुख्य पदहरु सदरमुकाम भन्दा बाहिरका भेग क्षेत्रमा गएका र आगामी मंसिर चार गते हुने संविधान सभाको निर्वाचनका लागि सदरमुकाम गमगढी क्षेत्रमा कुनै उम्मेदवार नभए पछि मतदातालाई चुनावी माहौलले छोएको छैन । मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका काँग्रेस र एमालेबाट गमगढी क्षेत्रले उम्मेदवार पाउने आशा गरेको भए पनि दुबै दलबाट उम्मेदवार हुन सकेनन , त्यसैले मलाई  चुनावी प्रचारमा जान मन लागेन, काँग्रेस कार्यकर्ता कालिबहादुर नेपालीले भने । सदरमुकाम आसपासका गाउँ वस्तीमा चुनावी अभियान सञ्चालन गर्न काँग्रेस एमालेका उम्मेदवार पुगे पनि सहभागिहरु न्युन उपस्थित हुने गरेका छन भने खेतवारीमा काम गर्न व्यस्त देखिन्छन ।
 सदरमुकाम गमगढी आसपासका पाँच वटा गाविसमा चुनावी अभियानका क्रममा घर दैलोमा कार्यक्रममा एमाले उम्मेदवार मोहन बाँनियासंग गएका सदरमुकामका नेतालाई मतदाताले कसका लागि मत माग्न आएको भन्ने प्रश्न गरे पछि आफुलाई जवाफ दिन अप्ठ्यारो परेको एमालेका एक नेताले बताए । यो भेगमा चुनावी अभियानमा गएका काँग्रेस उम्मेदवार ऐन बहादुर शाहीसंग गएका हस्त बहादुर मल्ललाई समेत मतदाताले यस्तै प्रश्न राखेका थिए । मल्ललाई स्थानीयवासीले तपाईले टिकट ल्याउनु भएन , शाहीलाई हामी चिन्दैनौ तर तपाईको अनुहार हेरेर मत दिन्छौ भन्ने कुरा गरेको काँग्रेस कार्यकर्ताले बताए ।
संविधान सभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारको टिकटका लागि हस्त बहादुर मल्लको नाम अन्तिमसम्म चर्चामा आए पनि अन्तिममा उम्मेदवारको टिकट ऐन बहादुर शाहीको नाममा आएको थियो । शाहीलाई टिकट नदिए केन्द्रिय सदस्यबाट राजीनामा दिने हुम्लाका जीवन शाहीको चेतावनी पछि काँग्रेसले ऐन बहादुर शाहीलाई प्रत्यक्ष तर्फको टिकट दिएको थियो । उता एमालेका तर्फबाट सदरमुकाम गमगढी क्षेत्रका गोपाल बमको नाम प्रत्यक्ष निर्वाचनका लागि अन्तिम टुंगो लागि सकेपछि मोहन बाँनियाले बागि उम्मेदवारी खडा गर्ने देखिए पछि रातारात एमालले बाँनियालाई टिकट दिने निर्णय गरेको एमाले स्रोतले बतायो । सवै भन्दा बढि ८ हजार ९ सय मतदाता रहेको सदरमुकाम गमगढी क्षेत्रबाट काँग्रेसबाट मल्ल र एमालेबाट बमले संविधान सभाको निर्वाचनका लागि टिकट नपाए पछि यस क्षेत्रमा चुनावी माहोल तात्न सकेको छैन ।
चुनावी अभियानमा काँग्रेसका उम्मेदवार ऐन बहादुर शाही र एमालेका मोहन बाँनियासंग, टिकटका दावेदार मल्ल र बम हिडेका छन भने केहि जिल्ला कार्य समितिका पदाधिकारी बाहेक अन्य कार्यकर्ता भने हिडेका छैनन । शाहीसंग शाहीको भेग सोरु तर्फका काँग्रेस कार्यकता छन भने बाँनियासंग उनको भेग खत्याडका एमाले कार्यकर्ता छन ।
२०५६ सालमा भएको संसदीय निर्वाचनमा सोरु भेकका चन्द्र बहादुर शाही (एमालेबाट) विजयी भएका थिए भने २०६४ सालको संविधान सभाको निर्वाचनमा नबराज धामी –एमाओवादीबाट) सभासद बनेका थिए । जिल्लामा मुख्य राजनितिक दलका प्रमुख पनि सदरमुकाम बाहिरका नै छन । काँग्रेसका जिल्ला सभापति ऐन बहादुर शाही सोरु भेग, एमाले जिल्ला अध्यक्ष मोहन बाँनिया खत्याड भेग, एमाओवादी जिल्ला ईन्चार्ज अज बहादुर शाही खत्याड भेग, नेकपा माओवादी जिल्ला ईन्चार्ज मानव प्रकास खत्याड भेगका हुन । यि दलका भातृ संगठनका प्रमुख समेत सदरमुकाम भन्दा बाहिर नै छन ।
सदरमुकाम क्षेत्रमा बलियो जनाधार भएका र जिल्लाले मान्ने राजनितिक दलका नेता भए पनि कुनै पद पाउन सकेका छैनन भने अब सदरमुकाम क्षेत्रमा राजनीतिक पद तथा नेतृत्व आउन दश वर्ष लाग्न सक्ने उनिहरुको विश्लेषण छ । हरेक क्षेत्रमा निर्णायक र नेतृत्वदायि भुमिका निर्वाह गर्दै आएको गमगढी क्षेत्रको अस्तित्व संकटमा पर्दै गएको कतिपय राजनितिक दलका नेता कार्यकर्ताको तर्क छ ।


0 comments

बिचार लेख्नुहोस्..