तिब्र बन फडानीले रारा दहको अस्तित्व संकटमा
मुगु न्युज डट कम,
मुगु ८ पौष-----------
सुन्दर र पर्यटकिय क्षेत्रका रुपमा हेरिएको मुगु जिल्लामा रहेको रारा दह चौतर्फि अतिक्रमणमा परेको छ । तिब्र बन फडानी र बर्षेनी खण्डिकृत रुपमा गई रहेको पहिरो र भु क्षय ताल नजिक पुग्न १ सय मिटर मात्र बाँकि रहेको छ । यस्तै अबस्था कायम रहिरहे भुकुम्पिय झड्का र पहिरोका कारण कुनै पनि वेला रारा ताल फुट्न सक्ने अनुमान गरिएको छ ।
तालको पानीको निकास पश्चिम खत्याड तिर भए पनि तालको पुर्वि क्षेत्र सदरमुकाम गमगढीबाट क्रमिक रुपमा पहिरो अगाढी बढ्दै गईरहेको छ । सदरमुकाम गमगढी देखि बढ्दै गएको पहिरो तलितुम गाउँ देखि माथी खण्ड खण्ड गर्दै बर्षेनी जमिन भासिदै गएको छ । जमिन भासिदै गरेको गुन् ढुस्का भन्ने स्थानबाट पहिरोसंग पानीका मुलहरु समेत बढ्न थालेका छन भने पहिरोले बाग चोट डाँडा भेटाउन अब एक सय मिटर मात्र बाँकि छ भने त्यो डाँडाबाट ताल छेउ पुग्न २ सय मिटर मात्र छ ।
सदरमुकाम गमगढी , श्रीनगर,कार्कीवाडा लगायत आसपासका गाउँ बस्तिहरु पहिरोको जोखिममा रहेका छन । २०५८ सालमा रारा राष्टिय निकुञ्ज वरीपोरीका वस्तिलाई मध्यनजर गर्दै मध्यवर्ती क्षेत्र व्यवस्थापनको अबधारणा ल्याएर वन समुदायलाई हस्तान्तरण गरे पछि बन फडानी तिब्र हुँदै गएको छ ।
समुदायलाई बन हस्तान्तरण गरिए पछि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले उपभोक्ताहरुलाई बन जंगल र रारा तालको संरक्षणका लागि जागरुक नबनाएका कारण रारा ताल वरीपोरी रहेको जैविक विविधता र प्राकृतिक संम्पदा नष्ट हुँदै जाँदा समेत बाढी पहिरो रोकथाम र रारा ताल संरक्षणको पहल कुनै क्षेत्रबाट हुन सकेको छैन । रारा तालको संरक्षण र सम्बद्र्धनका लागि बर्षेनी ताल विकास समिति, नेपाल पर्यटन बोर्ड, कर्णाली पर्यटन प्रबद्र्धन विकास समिति लगायतका निकायबाट लाखौ रकम खर्च गरिएको देखिए पनि रारा तालको संरक्षणमा कसैको ध्यान गएको छैन ।
वर्षेनी गाउँ देखि रारा ताल तर्फ जमिन भासिने क्रमसंगै बन फडानी समेत तिब्र भईरहेकाले अब सानो तिनो प्रयासले केहि गर्न नसकिने र यस्तै क्रम जारी रहे अबको दश वर्षमा ताल फुट्न सक्ने तलि तुम गाउँका स्थानीयवासी एवं शिक्षक नवराज रावलले बताए । रावलले भने राराको अस्तित्व जोगाउन राज्य नै अग्रसर हुनु पर्छ , संघ संस्था , जिविस र गाविसको बजेटले धान्न सक्दैन । अब धेरै ढिलो भईसकेको र गाउँ नै सार्नु पर्ने अवस्था आएको रावलको भनाई छ ।
सदरमुकाम तर्फको माटो कमजोर रहेकोले रारा ताल आसपासका वस्तीहरुलाई २०२० साल तिर नै अन्यत्र सार्न त्यति वेला नै भुगर्भ विदले सुझाव दिए पनि कसैले वास्ता नगर्दा राराको भविश्य संकटमा पर्दै गएको छ ।
रारा तालको संरक्षण तथा सम्बद्र्धनका लागि गएको हप्ता सदरमुकाम गमगढीमा आयोजना गरिएको पञ्च वर्षिय कार्य योजना निर्माण कार्यशालामा रारा ताल पहिरोको जोखिममा रहेको कुरा उठे पनि ठोस योजना भने बन्न सकेन । रारा ताल फुट्ने खतरा रहेको र समयमा नै सचेत नहुने हो भने सदरमुकाम नै बग्ने खतरा रहेकाले राष्टिय निती र स्थानीय निति अनुसार स्थानीय माग , आपुर्ति तथा व्यवस्थापन हेरेर संरक्षणको योजना बनाउनु पर्ने जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले बताए ।
रारा ताल र रारा ताल वरपरको प्राकृतिक तथा जैविक विविधता संरक्षणमा सहयोग होस भनेर सरकारले मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिको अवधारणा ल्याएर उपभोक्तालाई वन हस्तान्त्रण गर्दा झन विनास भएकाले अब पनि गम्भीर नभए रारा दह र यसको जैविक तथा प्राकृतिक विविधता संकटमा पर्ने रारा राष्टिय निकुञ्ज कार्यालयले जनाएको छ । मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका ईकाईहरुलाई राराको जैविक तथा प्राकृतिक सम्पदाको संरक्षणका लागि पर्याप्त सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन हुन नसकेको र अबैध रुपमा बन फडानी भई काठ सदरमुकाममा तस्करी हुने गरेका कारण राराको अस्तित्व संकटमा पर्दै गएको रारा राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष विर्ख बहादुर रोकायाले बताए ।
अहिले सदरमुकाम गमगढीमा दैनिक सयौं भारी दाउरा राराकै जंगलबाट आउने गरेको छ भने सदरमुकाम र आसपासका बस्तिमा निर्माण हुने भौंतिक पुर्वाधारमा लाग्ने काठ पनि राराबाटै आउने गरेको छ । धमाधम बन फडानी भईरहे पनि वृक्षा रोपण, तटबन्धका कुनै कार्यक्रम छैनन । जिल्लामा दैवी प्रकोप व्यवस्थापन, जल उत्पन्न प्रकोप नियन्त्रणका कार्यक्रमको बजेट कति आउछ कहाँ जान्छ भन्ने कसैलाई समेत जानकारी छैन ।

0 comments
बिचार लेख्नुहोस्..