वर्षको तिस दिन मात्र विद्यालय जाने शिक्षक दश प्रतिशत
मुगु न्युज डट कम,
मुगु ३ पौष---------------
जिल्ला भरिमा रहेका सरकारी विद्यालयका पाँच सय पचास जना शिक्षकहरु मध्य वर्ष भरिमा तिस दिनमात्र विद्यालय जाने शिक्षकहरुको संख्या दश प्रतिशत रहेको जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ ।
जिल्लामा रहेका १ सय ३६ वटा माध्यामिक, निम्न माध्यामिक तथा प्राथामिक विद्यालयहरुमा स्थायी,अस्थायी र राहत दरबन्दिमा गरेर पाँच सय पचास जना शिक्षक कार्यरत रहेकोमा त्यस मध्य राजनितिक दलका नजिक र पेशागत संगठनमा लागेका चार दर्जन बढि शिक्षकहरु वर्षमा पढाई हुनु पर्ने १ सय ९२ दिन मध्य ३० दिन मात्र विद्यालय जाने गरेको जिल्ला शिक्षा कार्यालय मुगुका निमित्त जिल्ला शिक्षा अधिकारी सुर्य बहादुर खत्रिले बताए ।
राजनितिक दलको आडमा रहेर शिक्षकका पेसागत संगठनमा आबद्ध रहेका शिक्षकहरुले विद्यालय जानु भन्दा ,पार्टीका कार्यक्रम, जिल्लामा रहेका गैर सरकारी संघ संस्थाका कार्यक्रमहरु तथा अन्य व्यवसायमा व्यस्त हुने गरेको भन्दै वेला वेलामा स्थानीयवासी र अभिभावक तथा नागरिक समाजले विरोध गर्दा समेत सम्बन्धित सरोकारवाला निकाय मौन देखिएका छन । १ सय ९२ दिन विद्यालयमा पढाई हुनु पर्ने भए पनि चालिस जना भन्दा बढि शिक्षकहरु तिस दिन मात्र विद्यालय जाने गरेका र अब विद्यालय स्रोत व्यक्ति मार्फत विद्यालय नगएर अन्य गतिविधीमा संलग्न हुने शिक्षकको तथ्याँक संकलन गरि कार्वाही प्रक्रिया अगाडी बढाईने निमित्त जिल्ला शिक्षा अधिकारी खत्रिले बताए ।
शिक्षकका पेसागत हक हितका काममा बाहेक अन्य कुनै गतिविधीमा शिक्षकहरु नलागि विद्यालयमा खटिने गरेको तथा गल्ती गर्ने शिक्षकहरुलाई कारवाही गर्ने काममा आफ्नो कुनै दवाव नरहेको नेपाल शिक्षक संघ मुगुका अध्यक्ष जंगबहादुर शाहीले बताए । उनले भने , राम्रो गर्ने शिक्षकलाई पुरस्कार र गल्ति गर्नेलाई सजाय हुनु पर्छ भन्ने मान्यतामा हामी छौ । गल्ति गर्ने शिक्षकलाई कार्वाही गर्न नसक्नु जिल्ला शिक्षा कार्यालयको कमजोरी हो , हामीलाई दोष लगाएर कार्यालय उम्किन मिल्दैन शाहीले भने ।
कुन शिक्षक विद्यालयमा गयो वा अन्य संघ संस्थाको कार्यक्रममा गयो भन्ने निगरानी शिक्षा कार्यालयले गर्दैन भने शिक्षकलाई दोष दिन नमिल्ने नेपाल राष्टिय शिक्षक संगठन मुगुकी अध्यक्ष विष्णुमाया शाहीले बताईन । कुन शिक्षक विद्यालय नगएर संस्थाका कार्यक्रममा गएको छ प्रमाण सहित बोल्न पनि शिक्षा कार्यालयलाई शाहीले चुनौति दिईन ।
शिक्षा कार्यालय मुगुले विद्यालय नजाने शिक्षकलाई कारवाही नगर्दा ईमान्दार तथा विद्यालयमा नियमित पढाउने शिक्षक समेत निरास हुन थालेका छन भने अन्य शिक्षक पनि विद्यालय किन जाने भन्ने प्रश्न गरिरहेका छन । शिक्षा नियमावली अनुसार एक वर्षमा २ सय २० दिन विद्यालय खोल्नु पर्ने, १ सय ९२ दिन पठन पाठन कार्य हुनु पर्ने भए पनि सदरमुकाम बाहिरका विद्यालय मशिकलले एक सय दिन मात्र पढाई हुने गरेका छन भने शिक्षकहरुले पनि पालो पहरा गर्ने गरिरहेका छन ।
0 comments
बिचार लेख्नुहोस्..