ग्रामीण क्षेत्रका विद्यालयमा विज्ञान प्रयोगशालाको माग बढ्दो
सुमन मल्ल,
मुगु न्युज डट कम-------
( माँग्री ) मुगु ,माघ १० ,जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका माध्यामिक विद्यालयहरुमा विज्ञान प्रयोगशालाको माग पछिल्लो समयमा तिब्र भएको छ ।
जिल्लामा रहेका कुल १ सय ३६ सरकारी विद्यालय मध्य २२ वटा माध्यामिक विद्यालय रहेका छन भने एक दर्जन उच्च माध्यामिक विद्यालय रहेका छन । विगतमा विज्ञान विषयका लागि प्रयोगशाला र चाहिने उपकरण अभावका कारण सैदान्तिक रुपमा मात्र पठन पाठन हुँदा विज्ञान विषयमा उतिर्ण हुने विद्यार्थीको संख्या ३५ प्रतिशत रहेको थियो ।
जिल्लामा रहेका २२ वटा माध्यामिक विद्यालय मध्य गएको एक वर्ष भित्र तिन वटा विद्यालयमा विज्ञान प्रयोगशालाको स्थापना भएको छ भने अन्य विद्यालयहरुले विद्यालय, गाविस र अन्य निकायबाट विज्ञान प्रयोगशाला स्थापनाका लागि स्रोत संकलन गरिरहेका छन ।
विज्ञान प्रयोगशालाका लागि चाहिने उपकरण , रसायन ल्याउन भौगोलिक विकटताका कारण निकै कठिनाई हुने गरेको तथा त्यस्ता उपकरण टुटफुट हुने भएकाले काठमाण्डौबाट नै हवाई जहाँजमा मुगु पु¥याउनु पर्ने हुँदा निकै महंगो पर्ने विद्यालयले जनाएका छन ।
अहिलेसम्म विज्ञान प्रयोगशाला स्थापना गर्ने विद्यालयमा महाकाली नमुना उच्च मावि श्रीनगर गमगढी, प्रभात उच्चा मावि रोवा र बुद्ध उमावि माँग्री रहेका छन ।
गमगढीमा रहेको उच्च माविको विज्ञान प्रयोगशाला स्थापना गर्न सुरुमा यु.एम एन मुगु र विद्यालयको २ लाखको लगानीमा प्रयोगशाला स्थापना भए पनि अहिले प्रयोगशालामा रहेका सबै उपकरण काम नलाग्ने गरि विग्रिसकेको र प्रयोगशालाका लागि विभिन्न निकायसंग सहयोग माग गरिएको विद्यालयले जनाएको छ ।
जिल्लामा विज्ञान संकायको पढाई हुने एक मात्र उच्च मावि रोवाले भने विद्यालयको आफ्नै स्रोतबाट विज्ञान प्रयोगशाला स्थापना गरेको छ । प्रयोगशाला स्थापना भए पछि ११ र १२ कक्षाका अतिरिक्त ८ देखि १० कक्षा पढ्ने विद्यार्थीका लागि पनि विज्ञान पढाउन सहज भएको विद्यालयका प्रधानाध्यापक मैनादल बुढाले बताए । उनले भने , विद्यालयले ४ लाख लगानी गरेर प्रयोगशाला स्थापना गरेको छ तर यतिले विज्ञान विषयको प्रयोगात्मक अध्ययनका लागि धान्न सकेको छैन ।
गएको हप्ता मात्र जिल्लाको पुर्वि भेकमा पर्ने करान क्षेत्रको बुद्ध उच्च माध्यामिक विद्यालय माँग्रीमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । जिल्ला शिक्षा कार्यालय मुगुका जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेको उपस्थितीमा प्रयोगशालाको स्थापना गरिएको छ । असल छिमेकि नेपाल मुगुको ८ लाख बढिको सहयोगमा प्रयोगशालाका लागि चाहिने १ सय ९६ प्रकारका उपकरण उपलब्ध गराईएको छ । प्रयोगशाला स्थापनाको क्रममा जिल्ला शिक्षा अधिकारी घिमिरेले प्रयोगशालाका लागि भवन अभाव रहेकाले अब कार्यालयले प्रयोगशालाका लागि आवश्यक बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जिल्लाको पश्चिम खत्याड भेकमा पर्ने लोक प्रिय उच्च मावि गम्थामा ३० लाखको लगानीमा विज्ञान प्रयोगशाला भवन निर्माणाधिन अवस्थामा रहेको छ ।
गत वर्षको एसएलसी परिक्षामा जिल्लाबाट ३३ प्रतिशत विद्यार्थी उतिर्ण भए पनि विज्ञान विषयको नतिजा सन्तोषजनक आउन नसकेको कार्यालयले जनाएको छ । जिल्ला भरिका प्राय जसो विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएका भए पनि विज्ञान शिक्षक र भवन अभावका कारण विज्ञान विषयको प्रयोगात्मक पढाई हुन नसकेको जिल्ला शिक्षा अधिकारी घिमिरेले बताए । उनले भने यो वर्ष एसएलसी परिक्षाका लागि अनिवार्य एक महिना भए पनि विज्ञान, गणित र अँग्रेजी विषयको कोचिङ्ग कक्षा सञ्चालन गर्न सवै विद्यालयलाई निर्देशन दिई सकिएको छ ।

0 comments
बिचार लेख्नुहोस्..