आठ महिनादेखि जलविद्युत अवरुद्ध,सेवाग्राही मर्कामा
मनिराज पाण्डे----------
कालीकोट, ९ माघ ,
वर्षासँगै आएको बाढीले जलविद्युत केन्द्रको नहर बगाएपछि आठ महिना देखि यहाँका स्थानीयबासिन्दाले बत्तीबाल्न पाएका छैनन् । जलबिद्युत अवरुद्ध भएको आठ महिना पुगिसक्दा पनि सञ्चालन नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।
विद्युत सञ्चालन नभएपछि विद्युतीय माध्यमबाट सञ्चालन हुने सम्पूर्ण काम बन्द हुँदा समस्या आएको हो । गत असार २ गते राति वर्षासँगै आएको बाढीका कारण मुम्रा गाविसको पोतमारास्थित विद्युतगृहको नहर (पानी ल्याउने कुलो) र पोललगायतका सामान बगाएर लगेपछि विद्युत सेवा बन्द भएको हो ।
५ सय किलोवाट क्षमता भएको सो जलविद्युतबाट २ सय ५० किलोवाट मात्र प्रयोगमा आएको भए पनि बाढीले उपकरण नै बगाएर लगेपछि स्थानीयवासी उज्यालोबाट वञ्चित हुनु परेको हो । जलविद्युत् सञ्चालनका लागि पटकपटक स्थानीयवासीको माग मात्र भएको होइन दुई महिनाअघि सम्पन्न संविधानसभाको निर्वाचनमा राजनीतिक दलको भोट माग्ने माध्यम नै बनेको थियो । तर अहिले कसैले पनि विद्युत्का बारेमा बोल्न चाहेका छैनन् ।
विद्युत नहुँदा कालीकोटमा वैकल्पिक ऊर्जा तथा जेनेरेटरमा लाखौँ रकम बाहिरिएको छ । पछिल्लो छ महिनामा जिल्ला सदरमुकाम मान्ममा विद्युत नभएका कारण २५ वटा जेनेरेटर र ५० भन्दा बढी ठूला क्षमताका सोलार सौर्य प्रणाली सञ्चालनमा आएका छन् । जसबाट स्थानीय सेवाग्राहीहरु फोटोकपी, फोटो निकाल्ने लगायतका काम गर्न चर्को मूल्य तिर्नु पर्ने बाध्यतामा छन् । त्यति मात्र होइन सूचना पाउने जनताको अधिकारसमेत वञ्चित भएको छ । विद्युत नभएका कारण महँगो पेट्रोल तथा डिजेलबाट एफएम तथा पत्रपत्रिकाहरु सञ्चालन गर्दा उनीहरुले निर्धारित समयभन्दा आधा समय छोट्याउनु परेको छ ।
सरकार उदासीन भएका कारण स्थानीय जनता सूचनाको हकबाटसमेत वञ्चित हुनु परेको रेडियो नयाँ कर्णाली एफएमका स्टेशन म्यानेजर कृष्णराज धमालाले बताए ।
जिल्ला विद्युत कार्यालयका प्रमुख रमेश भण्डारी विद्युत अवरुद्ध भएको समयदेखि कालीकोटमा छैनन् । शान्तिघाटका बाढीका कारण १८ जनाको ज्यान जाँदासम्म सरकारको ध्यान त्यस तर्फ नपुगेकोमा जिल्लावासी आक्रोशित छन् । विद्युत नभएपछि एसएलसी परीक्षाका लागि ट्युसन पढ्न सदरमुकाम आएका विद्यार्थीसमेत मारमा परेका छन् ।
0 comments
बिचार लेख्नुहोस्..