महिला स्वास्थ्य स्वयम सेविकाले पोशाक भत्ता पाएनन


 

मुगु न्युज डट कम
पौष १३ मुगु
 ‘गर्भवतीको चेक जाँच त के हामीले अघिल्लो वर्ष देखि पोशाक भत्ता, भिटामिन ए, जुकाको औषधी र पोलीयो थोपा खुवाएको रकम पनि पाएका छैनौ’ भिई गाविस वडा नम्बर ६ कि महिला स्वास्थ्य स्वयम सेविका आशा कार्कीले भनिन ।
 कार्की मात्र होईनन उप स्वास्थ्य चौंकि भिईमा भेटिएका सबै महिलाहरुले स्वास्थ्य चौकिमा स्वास्थ्यकर्मि नबसेको चार पटक गर्भ जाँच गराउन नपाएको गुनासो गरे । उनिहरुले सामान्य अवस्थामा चार पटकसम्म गर्भ चेक गराउनु पर्ने भए पनि गाविसका कोही पनि गर्भवतीले यो सुविधा नपाएको बताए । हामीले अहिलेसम्म अनमी मासिका भेटेका छैनौ , आईरन चक्की समेत पाएनौ , यहाँका सबै महिला गोठमा नै सुत्केरी हुन्छौ, सोही गाविस वडा नम्बर ३ की बाल्कीसरा बुमीले बताईन । स्वास्थ्य चौकिका करार सेवामा  कार्यरत अहेव कुँबरसिंह लावड कार्तिक पहिलो हप्ता मात्र भिई पुगेका थिए । हामीलाई करार सेवा दिएकाले कहिले सेवा अबधी थप हुन्छ कहिले हुँदैन त्यसैले पनि हामी नियमित छैनौ लावडले भने । अनमी भएको वेला कहिले काँही गर्भवतीको चेक जाँच हुन्छ तर प्रसुती गृह नभएकाले सुत्केरी हुन छिमेकी गाविस नार्थपुमा रहेको प्रसुती गृहमा जानु पर्छ उनले भने ।
 भिईबाट नार्थपु जानमात्र तीन चार घण्टा लाग्छ ,त्यहाँ पुगिहाले पनि प्रसुती गृह र स्वास्थ्य चौकि बन्द हुन्छ त्यसैले पनि गर्भवति महिलाले गोठमा नै सुत्केरी हुनु पर्ने बाध्यता छ स्थानीयवासी मञ्जन कार्कीले बताए । महिला स्वास्थ्य स्वयम सेविकाको पोशाक भत्ता, प्रसुती पछि महिलाले पाउने रकम तथा नवजात शिशुलाई दिईने न्यानो झोलाको विषयमा अहेव लावडले अनभिज्ञता प्रकट गरे । धैनकोट गाविसमा रहेको ईलाका स्वास्थ्य चौकिका कार्यालय सहयोगि अंगतबहादुर मल्ल असोज देखि अनुपस्थित रहेका छन भने अहेव लक्ष्मी मल्ल पनि स्वास्थ्य चौकि नगएको लामो समय भईसकेको छ । अर्का हेल्थ अशिस्टेण्ट युवराज शाही कार्यालय कामको शिलशिलामा सदरमुकाम गएको स्थानीयवासीले बताए । सधै स्वास्थ्य चौकि बन्द हुन थाले पछि स्थानीयवासीको आग्रहमा धैनकोट गाविसले गाविसका कर्मचारी जया जैसीलाई मासिक तीन हजार दिने गरेर स्वास्थ्य चौकि खोल्ने व्यवस्था मिलाएको छ । पौष नौ गते स्वास्थ्य चौकिमा पुग्दा स्वास्थ्य चौकि बन्द थियो भने चौरमा राखिएका कुर्चीमा बालबालिका बसिरहेका थिए । त्यति वेला गाविसको कामले नजिकै रहेको गाविस भवनमा भेटिएका जैसीले स्वास्थ्यकर्मी उपस्थित हुन छोडेपछि गाविसले आफुलाई स्वास्थ्य चौकि खोल्ने जिम्मा दिएको र त्यहाँ पुग्ने बिरामीलाई भएको औषधी दिने गरेको बताए । स्वास्थ्य चौकिमा स्वास्थ्यकर्मी नबस्दा गर्भवती महिलाले विना परामर्श र चेक जाँच विना नै जोखिमपुर्ण तरिकाले गोठमा नै सुत्केरी हुने गरेको धैनकोट गाविस वडानम्बर १ का कर्णजीत परियारले बताए ।
सोरु भेगका सात गाविस ,पुर्वी करान भेगका चार गाविस र पश्चिम खत्याड भेगका सात गाविसका रहेका स्वास्थ्य चौकि र प्रसुती गृह नाम मात्रका रहेका छन । स्वास्थ्य संस्थामा नत औषधी पाईन्छ नत स्वास्थ्यकर्मी नै बस्छन । गर्भवती महिलाले प्रोत्साहन रकम नपाएको ,महिला स्वास्थ्य स्वयम सेवीकाले पाउने सेवा सुविधा नपाएको तथा स्वास्थ्यकर्मी गाउँ नगएको भन्ने गुनासा धेरै आउन थाले पछि सम्बन्धित कार्य क्षेत्रका स्वास्थ्यकर्मिलाई स्पष्टिकरण सहित गाउँमा जान कडा परिपत्र गरिएको जिल्ला स्वास्थ्य कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख डाक्टर भक्तदेव श्रेष्ठले बताए । गर्भवती, स्वास्थ्य स्वयम सेविकाले पाउने रकम नपाएको विषयलाई गम्भीरताका साथ लिएर रकम हिना मिना गर्नेलाई कानुनी दायरामा ल्याईने उनले बताए । अर्को तर्फ यसरी स्वास्थ्य संस्थामा नबस्ने , सेवा सुविधा लिएर पनि गर्भवती र महिला स्वास्थ्य स्वयम सेविकाको रकम हिनामिना गर्नेलाई कानुनी दायरामा ल्याउन खोज्दा प्रत्यक्ष अप्रत्यक्ष रुपमा धम्की आउने गरेको पनि श्रेष्ठको भनाई छ ।
नेपाल सरकारले गर्भवती आमा र नव जात शिशुको सुरक्षाका लागि करोडऔं रकम लगानी गरेर मातृ शिशु सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको भए पनि मुगुमा भने सदरमुकाम आसपासका गाविसहरु बाहेक सदरमुकाम बाहिरका गर्भवती महिलाहरुले भने यो सेवा पाउन सकेका छैनन ।
 गर्भवती भए पछि स्वास्थ्य संस्था वा प्रसुती गृहमा चार पटक चेक जाँच गराउदा चार सय र स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भए बापत १५ सय गरेर १९ सय रुपैयाँ सरकारले दिदै आएको भए पनि ग्रामीण क्षेत्रका गर्भवती महिला यो सेवा बाट बञ्चित भईरहेका छन । जिल्ला भरि रहेका २४ वटा स्वास्थ्य चौकि मध्यमा ९ वटा स्थानमा प्रसुती गृह छन तर त्यहाँ खटाईएका मातृ शिशु कार्यकर्ता ( अनमी,मासिका ) र अन्य स्वास्थ्यकर्मि समेत नवस्था ग्रामिण क्षेत्रका गर्भवती महिलाहरु गोठमा नै सुत्केरी हुने गरेका छन । गर्भवती भईसके पछि नियमित रुपमा उनिहरुले आईरन चक्की खानु पर्ने हुन्छ तर गाउँमा स्वास्थ्यकर्मि नै नबस्ने भएपछि गर्भवती महिलाहरुले सामान्य आईरन चक्की समेत पाउन सकेका छैनन ।
घरमा नेै परम्परागत रुपमा सुत्केरी भएका गर्भवती महिलाहरुको तथ्याकंलाई सम्बन्धित क्षेत्रका  स्वास्थ्यकर्मिले स्वास्थ्य संस्थामा सुत्केरी भएको भन्दै जिल्ला स्वास्थ्य कार्यालयबाट रकम बुझेर लिएको देखिए पनि गाउँमा भने रकम नपाएको गुनासो गरिरहेका छन । सरकारले नवजात शिशु र गर्भवती आमाको सुरक्षाका लागि वर्षेनी करोड औं रकम खर्च गरिरहे पनि मुगुमा भने मातृ शिशु सुरक्षा कार्यक्रमका लागि आएको रकम लक्ष्यीत वर्गमा नपुगि बिचमा नै हराईरहेको छ । जिल्ला स्वास्थ्यको तथ्याकं अनुसार चालु आर्थिक वर्ष भन्दा अघिल्ला दुई आर्थिक वर्षमा स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेर मृत्यु हुने गर्भवती महिलाको संख्या तीन तीन जना देखाएको  छ तर २०७१ सालको जेठ यता मात्र ६ जना गर्भवती महिलाको मृत्यु भई सकेको छ तर स्वास्थ्य कार्यालय र स्वास्थ्यकर्मी बेखबर जस्तै बनेका छन ।

, ,

0 comments

बिचार लेख्नुहोस्..