आयोजना सम्पन्न भएको एक वर्षमा भुक्तानी नहुँदा मजदुर मर्कामा
मुगु न्युज डटकम------------
माघ ५ मुगु-------------------
हामीले एक वर्ष अघि सिचाई कुलो निर्माण गरि कुलोमा पानी बग्ने बनाई सक्यौ तर अहिलेसम्म काम गरेको ६० लाख रुपैयाँ ज्याला पाउन सकेका छैनौ , अब ठेकेदारलाई मुद्दा हाल्ने तयारीमा छौं , छिमेकी हुम्ला जिल्ला जैर गाविसका मजदुर दशरथ मल्लले भने ।
मल्ल मात्र होईनन गुल्म सिचाई आयोजना निर्माण कार्यमा संमलग्न दर्जनौ मजदुरले आयोजना सम्पन्न भएको एक वर्षसम्म पनि लाखौ रकम पाउन सकेका छैनन । आयोजना घर नजिकै भएकाले काम गर्न गईयो आएको रकमले बालबच्चाको पढाई खर्च गरौला , विहान बेलुका परिवारको पेटमा हाल्ने खानाको व्यवस्था गरौला भन्ने आशाले वर्षौ कुलो बनाउने काममा लाग्यौ , तर आयोजना सकिएको एक वर्षसम्म पनि ज्याला पाईएन परिवार पाल्न नै धौं धौं भयो यहाँ काम गर्नु भन्दा हाट (भारत ) गएको भए बढि कमाई हुन्थ्यो नाथर्पु गाविसका स्थानीयवासी मकुन्द दमाईले बताए । आयोजना सम्पन्न भएको एक वर्ष पुग्न लाग्दा समेत रकम भुक्तानी नदिए पछि गुल्म सिचाई आयोजनामा दैनिक ज्याला मजदुर गरेका मजदुर मर्कामा परेका छन ।
४२ वर्ष पहिले सुरु भएको सोरु भेकको नाथर्पु गाविसमा पर्ने गुल्म सिचाई आयोजना गएको फागुनमा मात्र सम्पन्न भएर कुलोमा पानी चलेको थियो । उपभोक्ता मार्फत ३६ लाख र ठेकेदार मार्फत २ करोड २८ लाखको लागतमा आयोजना २०७० फागुनमा सम्पन्न भएको थियो । सबै भन्दा खर्चिलो र लामो अबधी लागेको यो आयोजनाको निर्माण कार्यको जिम्मा लिएको द कञ्चनजंघा नेपाल पब्लिक जेभी प्रालीका ठेकेदारहरुले साहुबाट तीन प्रतिशत व्याजमा ऋण लिएर केही भुक्तानी गरे पनि काममा खटिएका मजदुरलाई ज्याला दिन नसकेको बताएका छन । आयोजनामा काम गर्ने मजदुर रकम माग्न आउछन साहुबाट व्याजमा लिएको ऋण तिर्न हैरान भएको छ सिचाई सव डिभिजन कार्यालय जुम्लाले भुक्तानी दिएको छैन ठुलो समस्यामा छौ आयोजना निर्माण कम्पनिका ठेकेदार लक्ष्मण कुमार शाहीले बताए ।
आयोजनाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परे पछि आयोजना सम्पन्न भएको ११ महिना पछि पनि भुक्तानी हुन नसकेको ठेकेदार कम्पनिले जनाएको छ । विषयमा जिल्ला प्रशासन कार्यालय मुगु र अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्य पश्चिमाञ्चल क्षेत्रीय कार्यालय सुर्खेतको टोली समेत आयोजना स्थलको अध्ययन गरेर प्रतिवेदन समेत बुझाई सके पनि के कारणले भुक्तानी रोकियो भन्ने कुराको जवाफ कसैले नदिएको कम्पनिले जनाएको छ । ३५ हेक्टर जमिनमा सिचाई गर्ने लक्ष्यले दुई दशक पहिले सुरु गरिएको आयोजना सम्पन्न भए पनि आयोजना निर्माणमा खटिएका मजदुरले ६० लाख ज्याला पाउन सकेका छैनन । सिचाई पुगे पछि अहिले गहुँ बाली र धानबाली समेत उत्पादन भईसकेको छ । बर्षेनी कर्णाली नदिमा आउने बाढीले सिचाई नहरको मुहान बगाउने र भु वनोट समेत कमजोर रहेकाले आयोजनाको निर्माण कार्य सम्पन्न गर्न ढिलाई भएको बताईएको छ । साढे पाँच किलो मिटर लम्बाई रहेको आयोजनाले भिई, फोतु र नार्थपु गाविसका स्थानीयवासीको जमिनलाई सिचाई प्रदान गरेको छ ।
0 comments
बिचार लेख्नुहोस्..