सिने नगरीमा फोहोरी खेल, नबल भन्छन्, ‘केटाकेटी खेलले डराउदिन’
नेपाली सिने नगरीमा दुई प्रकारको गुट छ । एउटा लगालग सिनेमा बनाएर आफुलाइ उभ्याउन चाहने र अर्को सिनेमा बनाउनु भन्दा पनि राजनीति बढि गर्न चाहने । चलचित्र क्षेत्रमा राजनीति गरेर टिक्न चाहनेहरुकै कारणले यतिबेला सिने नगरी भताभुङ्ग बन्दै गएको छ ।
काम भन्दा पनि पदको बढी आशा गर्ने केही सिनेकर्मीका कारणले गर्दा सिने नगरी धरासायी बन्दै गएको धेरैको गुनासो छ । चलचित्र निर्देशक समाजमा अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि निर्देशक बिमल पौडेलले घरयासी कारण देखाउँदै राजिनमा दिएका थिए । तर निर्देशक समाजबाट सुरु भएको फोहोरी खेल निर्माता संघ र कलाकार संघमा पनि छिरेको छ ।
निर्माता संघका अध्यक्ष राजकुमार राइको विरुद्ध र पक्षमा अहिले ठूलै गुट जम्मा भैसकेको छ । सिनेमा बनाउन भन्दा पनि एकअर्कालाइ उछाल्ने र पछार्ने दाउमा केही सिनेकर्मी लाग्दा यो क्षेत्र ध्वस्त हुदै गएको देखिन्छ । सिनेमा नचलेर निर्माताहरु पलायन भैरहेको अवस्थामा निर्माता संघमा नै डरलाग्दो राजनीतिले छोएको छ । यता कलाकार संघमा पराजय भोगेको एक गुट अध्यक्ष नबल खड्का बिरुद्धमा अविश्वासको प्रस्ताव ल्याउने तयारीमा रहेको खबर संचारमाध्यममा आइरहेको छ । तर अध्यक्ष खड्का भने यस्तो तयारीलाई केटाकेटी खेलको संज्ञा दिन्छन् । नबलले भने, ‘निर्माता संघ र निर्देशक समाजमा आएको हावाहुरीले कलाकार संघलाई पनि छोएको हो, तर म डराउनेवाला छैन ।’उनले भने, ‘विधी पुर्याएर आउछन् भने साधारण सभा बोलाएर छिनोफानो गर्न तयार छु ।’ उनले आफूमाथी लागेको आरोपको कुनै तुक नभएको बताए ।
चलचित्र क्षेत्रलाइ हाक्ने मुख्य संघसंस्थाहरुमा नै राजनीतिको फोहोरी खेल छिरेपछि यसले सिंगो सिने नगरीलाई नै अदोगतीतर्फ धकेल्ने धेरैको विश्लेषण छ । निर्माता संघमा होस् या कलाकार संघ या निर्देशक समाज नै किन नहोस्, अविश्वासको प्रस्ताव ल्याउने तयारीमा रहेका चलचित्रकर्मीहरु काम गरेर भन्दा पनि राजनीति गरेर टिक्न चाहन्छन् । यसको शिकार अहिले काम गरेर सिने नगरीमा निरन्तरता दिन चाहने चलचित्रकर्मीहरु भएका छन् ।
0 comments
बिचार लेख्नुहोस्..