न्युनतम शर्त मापनमा तिनवटा गाविस अनुतिर्ण
सुमन मल्ल
मुगु,
गाविसको न्युनतम शर्त तथा कार्य सम्पादन मुल्याकंनमा जिल्लाका तिन गाविस अनुतिर्ण भएका छन ।
जिल्लाका २४ गाविसहरु मध्य पिना , श्रीकोट र डोल्फु गाविस न्युनतम शर्त तथा कार्य सम्पादन मुल्याकंनमा अनुतिर्ण भएको जिल्ला विकास समिति मुगुले जनाएको छ । अनुतिर्ण भएका गाविसहरुलाई स्थानीय विकास मन्त्रालयले नपुग भएका कागज पत्र पेश गर्ने मौका दिए पनि स्थानीय विकास मन्त्रालयबाट प्राप्त हुने विकास अनुदान कटौति हुने भएको छ ।
जिल्ला विकास समिति मुगुले खटाएका विज्ञहरुले व्यवहारिक रुपमा तालमेल मिलाउने काम गरे पनि मन्त्रालयबाट आउने टोलिले २४ वटै गाविस मध्य कुन गाविसको प्रतिवेदन हेर्ने भनि गोला प्रथा गर्दा तिन गाविस परेका थिए । विगतमा मन्त्रालयबाट आउने मुल्यांकन टोलीले न्युनतम शर्त तथा कार्य सम्पादन मुल्याकंन प्रतिवेदन खोज्दा राम्रो परिणाम ल्याएका गाविसहरुको मात्र जिविसले देखाउने गरेको स्रोतले जानकारी दिएको छ । यो पटक भने मन्त्रालयबाट आएको टोलीले २४ वटै गाविसलाई गोला प्रथाबाट नमुना छनौट गरेको थियो । टोलीले बर्षेनी तिन चार वटा प्रतिवेदन नमुनाका रुपमा मात्र मुल्याकंन गर्ने गरेको पाईएको छ । अनुत्तिर्ण भएका गाविसले गाविसको गाउ परिषदले पारीत गरेका कार्यक्रमको निर्णय समावेश नगरेको, वार्षिक खर्च र आम्दानीको विवरण नराखेको तथा समयमा गाउ परिषद सम्पन्न नगरेका कारण अनुत्तिर्ण भएको जिविसले जनाएको छ ।
तिन चारवटा गाविसका मुल्याकंन प्रतिवेदन मात्र नहेरी सवै गाविसका प्रतिवेदन राम्रोसँग मुल्याकंन गर्ने हो भने अधिकाँश गाविस अनुत्तिर्ण हुन सक्ने जिविस स्रोतले बताएको छ ।
गाविसबाट सञ्चालित तथा सम्पन्न भए नभएका सवै कार्यक्रम तथा गतिविधिको प्रतिवेदन पेश गर्दा केहि कमजोरी रहेको पिना गाविसका सचिव धनप्रसाद पाण्डेले बताए । स्थानीय विकास मन्त्रालय र जिल्ला विकास समितिले निर्धारण गरेका सुचकहरुको आधारमा जिविसले खटाएका विज्ञहरुले प्रतिवेदन तयार गर्नु पर्ने प्रावधान भए पनि व्यवहारिक रुपमा असर नपरोस भनेर प्रतिवेदन तयार पार्ने गरेको पाईएको छ ।
0 comments
बिचार लेख्नुहोस्..