छाउपडी प्रथा विरुद्ध निगरानी समिति गठन


मुगु न्युज डट कम,
भाद्र २ मुगु-
सदरमुकाम संग जोडिएको रुगा आईतवार गाविसमा छाउ पडी प्रथा न्युनिकरण गर्न गाविस स्तरिय निगरानी समिति गठन गरिएको छ ।
 आईतवार गाविसका ९ वटै वडाका वडा नागरिक मञ्च, पारा लिगल कमिटी, आमा समुह, वाल क्लब , युवा क्लबका पदाधिकारीहरुको भेला आयोजना गरि १३ सदस्यीय निगरानी समिति गठन गरिएको हिमाली ग्रामीण युवा  समाज  विकास केन्द्र मुगुले जनाएको छ ।
 हिमाली ग्रामीण युवा  समाज  विकास केन्द्र मुगुको आयोजनामा भएको गाविस स्तरिय भेलाले गाविस सचिव संयोजक ,गाविसमा रहेको स्वास्थ्य संस्था, सरकारी विद्यालय, गैर सरकारी संस्था, आमा समुह, बालक्लबका पदाधिकारी सदस्य रहने गरि १३ सदस्यीय समिति गठन गरेको हो । गाविसमा महिलाहरु महिनावारी हुँदा सात दिन सम्म अँध्यारो गोठमा वस्ने कसैलाई छुन नमिल्ने, घर भित्र वस्न नपाईने परम्परा रहेको र जसले महिलाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुँदा परम्परा देखि हटाउन नसकेको प्रथालाई न्युनिकरण गर्न समिति गठन  गर्नु परेको आयोजक संस्थाले जनाएको छ ।
 समिति गठनसंगै समितिका पदाधिकारीलाई अभिमुखिकरण , सचेतना  तालिम, समुदायमा घरदैलो अभियान, भित्ते लेखन, सडक नाटक जस्ता जनचेतना मुलक र प्रचार प्रसार अभियान सञ्चालन गर्ने कार्य योजना समेत निर्माण गरिएको छ ।
 अहिले पनि महिनावारी हुँदा घर भित्र पस्दा , त्यस्ता महिलाले छोएको खाँदा देउता रिसाएर अनिष्ट हुने विश्वासले यो प्रथा कायम रहेको छ ।  महिनावारी भएको वेला पोषण युक्त खाना खानु पर्ने भए पनि  गाई , भैंसिको दुध, दहि मोहि, घिऊ खान समेत बन्देज लगाईएको भेलामा सहभागि महिलाले बताए ।
महिनावारी भएका महिलाले फलफुलका विरुवा छुदा  विरुवा समेत सुक्ने र त्यस्ता महिलालाई पाप लाग्नेजस्ता भ्रमहरु समाजमा रहेका छन । उनिहरुका अनुसार , धामी झाँक्रि हुने घरका महिलाले महिनावारी हुँदा सात दिन पछि घर भित्र पस्ने गर्छन भने अरुले ति देखि पाँच दिनमा घर भित्र पस्ने गरेका छन ।

0 comments

बिचार लेख्नुहोस्..