सामुहिक बाख्रा पालनमा स्थानीयवासीहरु


मुगु न्युज डट कम
भाद्र २
 रुगा गाविस वडा नम्बर ८ का स्थानीयवासहिरु अहिले सामुहिक बाख्रा पालनमा आकर्षित भएका छन ।
सदरमुकाम  गमगढी देखि तिन घण्टा टाढा रहेको फोईपाटा गाउँका ८६ घरधुरीका स्थानीयवासीहरुले परम्परागत रुपमा पाल्दै आएका स्थानीयवासीले स्थानीय जातका  बाख्राहरु हुर्कन धेरै समय लाग्ने र मासु समेत कम हुने भएकाले अहिले सामुहिक रुपमा उन्नत जातका बाख्रा पालन गर्न सुरु गरेका हुन ।
 चंखेली बाख्रापालन समुह गठन गरि स्थानीयवासीले अहिले छिमेकि जिल्ला बाजुरा पुगेर सिन्हाल जातका ८२ बाख्रा खरिद गरि ल्याएर गाउँ नजिकै खोर वनाई सामुहिक बाख्रा पालन सुरु गरेको समुहका अध्यक्ष प्रेम बहादुर बढुवालले बताए । अहिले बाख्रा हेर्नका लागि दुई जना गोठाला रहेको , बाख्रा बस्ने खोर समेत समुदायको अगुवाईमा बनेको उनिहरुले बताए । स्थानीय जातको बाख्राले जन्मेको एक वर्षमा ८ केजीसम्म मात्र मासु दिने गरेकोमा सिन्हाल जातको बाख्राले जन्मेको एक वर्षमा १६ केजी सम्म मासु दिने अध्यक्ष बढुवालले बताए ।
 स्थानीयवासीले सामुहिक रुपमा उन्नत जातको बाख्रा पालन गर्न सुरु गरे पछि बाख्रा पालनका लागि तालीम प्रदान गर्न पुगेका  जिल्ला पशु सेवा कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख गोविन्द बहादुर महतले यो सामुहिक बाख्रा पालनलाई  बाख्रा पालन सम्बन्धि अध्ययन केन्द्रका रुपमा विकास गर्न सके अझै राम्रो हुने बताए । गाउँमा नै पुगेका महतले पाँच दिने तालीमका अवसरमा बाख्रामा लाग्ने रोग र त्यसको उपचार, बाख्राको वास, प्रजनन प्रक्रिया , बाख्राको किसिम, सरकारको निती तथा बाख्रा पालन सम्बन्धि तरिकाका वारे जानकारी गराउने बताए ।
 उनिहरु सामुहिक रुपमा बाख्रा पालन गर्न ईच्छुक देखिए पछि त्यसका लागि आफुहरुले अहिले बाख्रा खरिदका लागि साढे ६ लाख जति आर्थिक सहयोग गरेको असल छिमेकि नेपाल मुगु नामक गैर सरकारी संस्थाका कार्यक्रम संयोजक अष्टकुमार श्रेष्ठले बताए । मुगुमा बाख्रा पालन व्यवसायलाई सुधार गर्न अब बोयर र सानन जातको बोका पनि व्यवस्था गर्ने र सरकारको निती र प्रक्रिया अनुसार बाख्रा पालन व्यवसाय सम्बन्धि अनुसन्धान केन्द्र स्थापनाको पहल गर्ने बताए ।


0 comments

बिचार लेख्नुहोस्..