सदरमुकाममा महिनावारी भएका महिलालाई धारामा नुहाउन रोक
मुगु न्युज डट कम
श्रावण ३२ मुगु
सदरमुकाम गमगढीसंग जोडिएको नमुना गाविस कार्कीवाडाको वडा नम्बर ७ र ८ मा पर्ने कार्कीवाडा गाउँमा महिनावारी भएका महिलालाई सार्वजनिक धारामा नुहाउन अघोषित रुपमा रोक लागाईएको पाईएको छ ।
गाउँ नजिकै रहेको खानेपानीको मुहानमा संगै तिनवटा धारा बनाईएको छ भने एउटा अलग छ । अलग रहेको धारामा महिनावारी (छुई) भएका महिलाहरुले नुहाउने लुगा धुने गरिरहँदा स्थानीयवासी राज बहादुर रावलले गालि गर्ने गरेको स्थानीय महिलाले बताए । त्यसरी गाली गर्दा पनि नमानेको भन्दै रावलले धारोमा नै मन्दिर बनाए पछि महिनावारी भएका महिलाहरु खोलाको फोहोर पानीमा नुहाउन बाध्य भएको स्थानीयवासी तारा मल्लले बताईन । उनले भनिन– विवाहित महिलाले धारोमा नै मन्दिर बनाए पछि नुहाउन छोडेका र किशोरीहरुले नुहाउन नछोडे पछि रावलले पानीको धारा भत्काएको स्थानीय महिलाहरुले बताएका छन ।
धारामा महिनावारी भएका महिलाले नुहाउदा ,कपडा धुदा पानीको मुहान सुक्ने , धाराबाट बगेर गएको पानी बारीमा जाँदा बारीमा लगाएको सागपात र अन्य बोट विरुवा सुक्ने भन्दै रावलले महिनावारी भएका महिलाहरुले नुहाउन नमिल्ने गरि धारा विगारेका हुन ।
पुलु गाविसका प्राविधिक समेत रहेका राज बहादुर रावलले धारा नजिक आफ्नो घर रहेको र आफुलाई असर परेकाले गाउलेको सहमतिमा नै धारामा महादेवको मन्दिर बनाएको दावि गरे । उनले भने – नेपाल सरकारको ऐन भन्दा कहिले काँहि गाउघरको चैन ठुलो हुन्छ गाउँमा सबैले महादेव मान्छन तर धर्म ,परम्परामा उनिहरु विचलित भएर धारामा नुहाउने कुरा गरिरहेका छन यो राम्रो होईन । महिनाबारी, सुत्केरी भएका महिलाहरुले धारामा नुहाउदा गाउलेहरुले पानी पिउन छोडेपछि मैले व्यक्तिगत रुपमा २२ हजार खर्च गरेर मन्दिर बनाएको हुँ कसैले विरोध गर्छन भने मेरो भन्नु केहि छैन देउताले उनहरुलाई नै विगार्छ रावलले भने ।
सार्वजनिक मुल बाटोमा नै धारा रहेको र महिनावारी भएका महिलाले नुहाउदा ,कपडा धुदा फोहोर हुने भएकाले गाउलेहरुकै सल्लाहमा महिनावारी भएका र सुत्केरी भएका महिलाहरुलाई नुहाउनका लागि अलग धारो बनाइृ दिएको स्थानीयवासी ६५ वर्षीय गोर बहादुर कार्कीले बताए । सार्वजनिक धारामा महिनावारी भएका महिलालाई नुहाउन , कपडा धुन नदिएको भन्ने पिडीतले उजुरी दिएमा कानुनी प्रक्रिया अगाडी बढाउन सकिने र सोझै उजुरी नआईकन स्थानीय प्रशासनले कुनै समुदायको धार्मिक, सांस्कृति तथा परम्परामा हस्तक्षेप गर्न नसक्ने जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले बताए ।
सदरमुकाम कै गाविसमा छाउपडी प्रथा कायम रहे पनि छाउ पडी प्रथा उनमुलन निर्देशिका २०६४ ले जिल्लामा कुनै प्रभाव पारेको छैन । बुधवार मात्र कार्कीबाडा गाविसमा हिरिसडेक नामक स्थानीय गैर सरकारी संस्थाले छाउपडी प्रथा विरुद्ध अभियान सञ्चालन गर्न गाविस स्तरिय निगरानी समिति गठन गरेको छ ।
0 comments
बिचार लेख्नुहोस्..