पाँच लाख बराबरका पाठ्य पुस्तक प्रदान


मुगु न्युज डट कम,
भदौ २६ मुगु-----------------------
जिल्ला भरिमा विज्ञान संकायको पठन पाठन कार्य हुने एक मात्र उच्च माध्यामिक विद्यालयलाई बुधबार पाँच लाख बराबरका पाठ्य पुस्तक प्रदान गरिएको छ ।
 रोवा गाविसमा दुई वर्ष देखि सञ्चालित प्रभात उच्च माध्यामिक विद्यालयलाई विज्ञान, बाणिज्य र शिक्षा संकायका लागि ब्याक टु लाईफको सहयोगमा परिवर्तन नेपाल नामक गैर सरकारी संस्थाले पाँच लाख बराबरका बाह्र सय एक थान पुस्तक प्रदान गरेको छ ।
 विद्यालयमा पढ्ने विद्यार्थीले सहज रुपमा पाठ्य पुस्तक किन्न नसकने भए पछि विद्यालयको आग्रहमा विद्यालयको पुस्तकालयका लागि पुस्तक सहयोग गरेको संस्थाले जनाएको छ । जिल्ला भरिमा एक दर्जन बढी उच्च माध्यामिक विद्यालय सञ्चालनमा रहे पनि एउटा मात्र विद्यालयले विज्ञान संकाय तर्फको कक्षा सञ्चालन गरिरहेको छ ।
अहिले विद्यालयमा विज्ञान तर्फ २६ जना , शिक्षा तर्फ ४२ जना र बाणिज्य तर्फ १७ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका अँग्रेजी विषयका शिक्षक खगेन्द्र घर्तिले बताए । विज्ञान विषय लिएर उच्च शिक्षा पढ्न चाहने तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुका लागि जिल्ला भित्र नै विज्ञान विषयको पढाई हुन थाले पछि सजिलो भएको स्थानीयवासीले बताए ।
 विद्यालय सञ्चालनका लागि आर्थिक वर्ष २०६९ ।०७० मा विज्ञान प्रयोगशाला भवनका लागि जिल्ला ६ लाख र चालु आर्थिक वर्षमा २० लाख रकम खर्च गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । पाठ्य पुस्तक प्रदान गर्दै जिल्ला शिक्षा कार्यालय मुगुका निमित्त जिल्ला शिक्षा अधिकारी सुर्य बहादुर खत्रिले यो वर्ष विद्यालयको प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरणका लागि दोस्रो उच्च शिक्षा परियोजना कार्यक्रम मार्फत पाँच लाख एकतिस हजार रकम सहयोग गरिने जानकारी दिए ।

0 comments

बिचार लेख्नुहोस्..