सरकारी कार्यालयका कार्यक्रम सन्तोषजनक नभएकोमा असन्तुष्टि


मुगु न्युज डट कम,
भदौ २५ मुगु-----
जिल्लाका सरकारी कार्यालयहरु मध्य जिल्ला विकास समिति , जिल्ला शिक्षा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय मुगुले आर्थिक वर्ष २०६९ । ०७० मा सञ्चालन गरेका कार्यक्रमहरु सन्तोष जनक नभएको तथा करोड औं रकम खेर गएको स्थानीय राजनीतिक दल र स्थानीयवासीले बताएका छन ।
सोमबार देखि जिल्ला विकास समिति मुगुको आयोजनामा भईरहेको आर्थिक वर्ष २०६९ ।०७० को बार्षिक प्रगति समिक्षा गोष्ठीमा सहभागि भएका जिल्लाका राजनीतिक दलहरु र स्थानीयवासीले तिन वटा सरकारी कार्यालयको कार्यक्रमहरु कागजमा नै सिमित भएको बताएका हुन  ।
 सवै भन्दा बढि जिल्ला स्वास्थ्य कार्यालयले प्राप्त रकम सवै खर्च गरिएको देखाएको, सवै भन्दा बढी भ्रष्टाचार भएको उनिहरुले आरोप लगाए । सुरक्षित मातृत्व सेवा कार्यक्रममा ४० लाख बढि रकम शतप्रतिशत खर्च भएको देखिए पनि जिल्ला अस्पतालबाट प्रभावकारी प्रसुति सेवा नपाएर धेरै गर्भवति महिलाले दुख पाउनु परेको, कतिपय अवस्थामा सुत्केरी महिलाको मृत्यु भएको तथा अन्य रोगका विरामीले पनि उपचार नपाएर ज्यान गुमाउनु परेको भन्दै आक्रोश व्यक्त भएको छ ।
 जिल्ला स्वास्थ्य कार्यालयले विना टेण्डर र विना कोटेशन औषधी र अन्य उपकरण आफै खरिद गरिएको पाईएको छ । त्यस्तै लाख औ रकम खर्चेर सर्वोत्तम पिठो ल्याईए पनि म्याद सकिएको , जिल्ला अस्पताल विकास समितिले मनोमानी ६८ जना करार सेवामा कर्मचारी भर्ना गरेको , ठुलो संख्यामा स्वास्थ्यकर्मि काजमा सदरमुकाममा नै बसेको , ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मि र औषधी नपुगेको प्रति असन्तुष्टि व्यक्त गरिएको छ ।
जिल्ला विकास समितिले सञ्चालन गरेका अधिकाँश आयोजनाहरुको काम सन्तोष जनक नरहेको ,कामै नगरि योजना सम्पन्न गरिएको , योजनाहरु अधुरै अवस्थामा रहेका , कार्यालयमा कर्मचारीहरु विच समन्वय नभएको , आर्थिक अनियमितता बढेकोमा समिक्षा गोष्ठिमा  छलफल गरिएको छ । त्यस्तै जिल्ला शिक्षा कार्यालयले सञ्चालन गरेका कार्यक्रमहरु मध्य साक्षरता अभियानका लागि ३० लाख बढि अनावश्यक खर्च गरिएको, शिक्षकहरु विद्यालयमा अनियमिति भएको , दिवा खाजाको रकम हिनामिना भएको , विद्यालय सुधार योजना , सामुदायिक अध्ययन केन्द्र लगायतका क्षेत्रमा गरिएको लगानी खेर गएको देखिएको छ ।
सरकारी कार्यालयहरुले अब देखि चालु आर्थिक वर्षका सवै कार्यक्रमहरुका बारे  राजनितिक दल , सञ्चारकर्मि र आम नागरिकलाई जानकारी गराउनु पर्ने आवाज उठे पछि अब देखि जिल्ला विकास समितिको सुचना केन्द्रमा सरकारी तथा गैर सरकारी कार्यालयहरुका बार्षिक कार्यक्रमको विवरण राखिने स्थानीय विकास अधिकारी भरत गौतमले बताए ।
समिक्षा गोष्ठिमा उठेका जिज्ञासा, समस्याहरु सम्बोधन गर्न तत्काल सम्बन्धित सरकारी कार्यालयहरुले सुधार गर्नु पर्ने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले बताए । गोष्ठिमा सहभागि भएका सरकारी कार्यालयका कर्मचारी तथा कार्यालय प्रमुखहरुलाई निर्देशन दिदै प्रजिअ गिरीले भने, सवै सरकारी कार्यालयहरुले तत्काल आफ्ना गल्ति, कमि कमजोरी सुधार गर्नु होला अन्यथा कानुन बमोजिम कारवाही सुरु हुन्छ ।
जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख श्यामलाल चौधरीले आफु भर्खर मात्र आएको र कार्यालयका समस्या समाधान गर्न पहल अघि बढाईसकेको बताए । धेरै काम र कार्यक्रमहरु समस्याहरुले जेलिएका छन , कतिपय कागजपत्र भेटाउन नै सकिन प्रयास भईरहेको छ चौधरीले भने ।
सरकारी कार्यालयहरुका कार्यक्रमहरुका विषयमा सम्बन्धित कार्यालय प्रमुख र लेखापाल बाहेक अरु कसैलाई जानकारी नभएको , प्रत्येक चौमासिकमा समिक्षा गर्नु पर्ने लगायतका प्रसंगमा समेत छलफल भएको थियो ।

0 comments

बिचार लेख्नुहोस्..