आयातित खाद्यन्नले स्थानीय वाली हराउदै ÷ विश्व खाद्य कार्यक्रद्धारा निर्मित संरचना प्रयोजन विहिन
मुगु न्युज डट कम,
मुगु ,भाद्र २० ----
एक दशक यता जिल्लामा नेपाल सरकार तथा अन्य सहयोगि दातृ निकायबाट आउने खाद्यन्नका कारण जिल्लाको स्थानीय कृषि उत्पादन हराउदै गएको छ ।
नेपाल सरकारले उपलब्ध गराउने अनुदानको खाद्यन्न, विश्व खाद्य कार्यक्रमबाट आउने खाद्यन्न तथा बजारमा आउने अन्य दैनिक उपभोग्य वस्तु तथा खाद्यन्न सहज रुपमा उपलब्ध हुने भए पछि धेरै दुख गरेर थोरै उत्पादन गर्नु भन्दा जग्गा बाँझो राख्ने परम्परा बढेर गएको छ । थोरै मिहिनेत गरेर धेरै ज्याला पाउने र अन्य काम गरे पनि सहज रुपमा खाद्यन्न प्राप्त गर्ने हुँदा जिल्लामा उत्पादन हुने स्थानीय वाली कोदो ,मकै, कागनु, चिनो, फापर, जौं , गहुँ , उवा, लगायतका रैथाने बालीहरु लोप हुन थालेका छन ।
स्थानीयवासीलाई स्थानीय उतपादनका लागि सचेत नबनाउनु, आफ्नै खेत वारीमा उत्पादन भएको अन्न वाली भन्दा आयातित खाद्यन्न उपभोग गर्न मन पराउनु र सहज रुपमा नेपाल खाद्य संस्थान र बजारमा आयातित खाद्यन्न प्राप्त हुने तथा विश्व खाद्य कार्यक्रमबाट दिईने खाद्यन्नका कारण पनि स्थानीय उत्पादनमा वृद्धि हुन नसकि खेति योग्य जमिन समेत बाँझो बन्दै गएको जिल्ला कृषि विकास कार्यालयको भनाई छ ।
जिल्लाको ५५ हजार जनसंख्यालाई वार्षिक १० मेट्रीक टन खाद्यन्न आवश्यक हुन्छ । तर पछिल्लो समयमा खेतिपाती भन्दा ज्याला मजदुरीबाट बढी आम्दानी हुने ,सहज रुपमा खाद्यन्न पाईने हुँदा खेतपातीका लागि धेरै दुख गर्नु भन्दा अरु नै काम गर्ने गरेको स्थानीयवासीहरु बताउछन । प्रत्येक वर्ष नेपाल खाद्य संस्थानले जिल्लाका लागि १५ हजार क्वीन्टल खाद्यन्न पठाउने गर्छ भने डब्लु एफ पिले पनि ठुलै परिमाणमा खाद्यन्न उपलब्ध गराउदै आएको छ ।
डब्लु एफ पि ले कामका लागि खाद्यन्न कार्यक्रम मार्फत खाद्यन्न दिए पनि कुनै काम प्रभावकारी हुन नसकेको पाईएको छ । गएको वर्ष काम गरे वापत स्थानीय उपभोक्तालाई चामल दिएर बनाईएका पानी भकारी एकाध बाहेक अधिकाँश काम नलाग्ने र विना प्रयोजनका देखिएका छन । सदरमुकामसंग जोडिएको रुगा गाविसको रुगा गाउमा बनाएको पानी भकारीमा नत पानी छ नत कतै सिंचाई नै भएको छ ।
जिल्लाको पश्चिम भेकमा पर्ने ह्याँग्लु गाविसको वडा नम्बर ३,४ र ५ मा करिब एक सय घर धुरीलाई प्रति घरधुरी तिन क्वीन्टल २० केजि खाद्यन्न दिएर बनाएको पानी भकारी उपयोग विहिन छ । वडा नम्बर ८ मा पनि उस्तै अवस्था छ । वडा नम्बर ५ का स्थानीयवासी ५७ वर्षीया बम बहादुर बुढाले भने – बर्ष भरि काम गर्दा पनि अन्न हुँदैन , कति दुख गर्नु अरु काम ग¥यो पैसा कमायो बजारबाट भए पनि खाद्य संस्थानबाट भए पनि सजिलै चामल पाईन्छ किन दुख गर्ने । उनले थपे – पोहोर साल एक घरले आठ प्याक विश्व खाद्यको चामल पाऔं , कागति खेति गर्ने भनेर गाउले सवैले पानी भकारी बनाऔं । बनाएर के गर्ने भकारीमा हाल्ने पानी छैन । हामीकन चामल खान पाए भैगो अरु क्या चाहियो ।
जिल्लामा आउने आयातित दैनिक उपभोग्य वस्तु, नेपाल खाद्य संस्थान , विश्व खाद्य कार्यक्रमको खाद्यन्न र जिल्लामा बढ्दो भ्रष्टाचारले गर्दा मुगुवासी जनता पर निर्भरताको बाटोमा जानुका साथै स्थानीय वाली नाली हराउदै गएको श्रीनगर गाविसका स्थानीयवासी ऐन बहादुर हमालले बताए । उनले भने संघ संस्था, सरकारले पोषण विहिन खाद्यन्न दिन थालेका कारण हाम्रो बानी विग्रिएको छ भने साना देखि ठुला विकास योजना कामै नगरि सम्पन्न गर्ने र यस्तो विषयमा कसैले नबोल्ने हुँदा मान्छेमा अल्छिपना बढ्दै जाँदा कृषि योग्य जमिन समेत बाँझो बनेको छ ।
जिल्ला भरिमा स्थानीयवासीहरुले खेति गर्न धेरै दुख हुने उत्पादन कम हुने भन्दै खेतिपाती गर्न छोडेका, कामै नगरे पनि योजना सम्पन्न हुने प्रवृती बढेको, विश्व खाद्य कार्यक्रम र जिल्लामा आयात हुने बाह्य खाद्य वस्तुका कारण स्थानीय उत्पादनमा असर पारेको नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष एवं स्थानीय सञ्चारकर्मि राज बहादुर शाहीले बताए ।
स्थानीयवासीले खाने वानीमा समेत परिवर्तन गरे पछि पनि स्थानीय वालीको उत्पादनमा ह्रास आउन थालेको खाद्य सुरक्षा र खाद्य अधिकार सम्बन्धि काम गरिरहेका संघ संस्थाहरुले दावी गरेका छन । दुई चार दिन हलुका काम गरे पनि विश्व खाद्य कार्यक्रमबाट प्रति घर धुरी तिन क्वीन्टलसम्म चामल पाउने गरेको , वेला वेला खाद्य संस्थान बाट समेत चामल पाउने हुँदा स्थानीयवासीहरुले जग्गा जमिनमा खेतिपाती गर्न छोडेको र स्थानीय वाली हराउदै गएको ह्याँग्लु गाविसका स्थानीय शिक्षक चन्द्र रोकायाले बताए ।
जिल्लामा अहिलेसम्म विश्व खाद्य कार्यक्रमबाट कति परिमाणमा खाद्यन्न आयो भन्ने तथ्यांक छैन । स्थानीय साझेदार संस्था पुर्न निर्माण तथा अनुसन्धान विकास केन्द्र आर आर डिसीले कार्यक्रमको समयावधी सकिएको र अहिले कर्मचारी तथा पदाधिकारी नभएकाले कुनै कुरा थाहा नभएको जनाएको छ । उता विश्व खाद्य कार्यक्रम मुगु स्थित समन्वय कर्ता पन्नालाल महर्जनले पनि आफुसंग कुनै तथ्यांक नभएको बताए ।
विश्व खाद्य कार्यक्रमले स्थानीयवासीलाई अल्छि बनाई परनिर्भरताकोे बाटोमा लगेको भन्ने कुरामा विश्व खाद्य कार्यक्रम नेपाल काठमाण्डौका सुचना अधिकृत दिपेशदास श्रेष्ठले असहमति जनाए । उनले भने हामीले स्थानीयवासीलाई छोटो अवधीका लागि खाद्य सुरक्षा होस भनेर खाद्यन्न उपलब्ध गराएका हौ , पर निर्भर बनाएका होईनौ ।
0 comments
बिचार लेख्नुहोस्..