सरकारी कार्यालयले बेरुजुको विवरण दिएनन


मुगु न्युज डट कम,
भदौ २४ मुगु--------
 जिल्लाका सरकारी कार्यालयहरुले चालु आर्थिक वर्षसम्म तिर्न बाँकि रहेको बेरुजु रकमको विवरण अहिलेसम्म उपलब्ध नगराएको जिल्लामा पुगेको महालेखा परिक्षकको टोलीले जनाएको छ ।
 एक महिना अघि सदरमुकाम गमगढी आई पुगेको महा लेखा परिक्षकका निर्देशक दामोदर पुडासैनीको टोलीले सरकारी कार्यालयहरुको समपुरक परिक्षण गर्न सुरुमा नै विवरण उपलब्ध गराउन अनुरोध गरे पनि अहिलेसम्म चारवटा सरकारी कार्यालयले मात्र विवरण उपलब्ध गराएको टोलीले जनाएको छ ।
 जिल्लामा पुग्दा वितिक्कै टोलीले सरकारी कार्यालयका प्रमुख र लेखा प्रमुखहरुसंग बैठक राखी सात दिन भित्र सवै विवरण उपलब्ध गराउन अनुरोध गरे पनि अहिलेसम्म जिल्ला प्रहरी कार्यालय मुगु , जिल्ला अदालत, दुर्गम क्षेत्र विकास समिति र खानेपानी तथा सरसफाई  सव डिभिजन कार्यालय मुगुले मात्र विवरण उपलब्ध गराएको टोलिका संयोजक एवं महालेखा परिक्षक कार्यालयका निर्देशक दामोदर पुडासैनीले बताए ।
जिल्ला विकास समिति मुगुको अहिलेसम्म बेरुजु फछ्र्यौट गर्न अझै १५ करोड बाँकि रहेको देखिएको छ । बेरुजु फछ्र्यौटका लागि अब फहल सुरु गरिने जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी भरत गौतमले बताए ।
 जिल्लाका सरकारी कार्यालयका प्रमुख र लेखा प्रमुखहरु जिल्लामा नहुँदा मलेप टोलीलाई लेखा परिक्षण गर्न समस्या परिरहेको टोलीको भनाई छ ।  अहिलेसम्म पनि जिल्ला शिक्षा कार्यालय, महिला तथा बालबालिका कार्यालय, खानेपानी, नेपाल खाद्य, जिल्ला प्राविधिक कार्यालय लगायतका सरकारी कार्यालयहरु अहिले पनि कार्यालय प्रमुख विहिन अवस्थामा छन ।

0 comments

बिचार लेख्नुहोस्..