जलवायु सहायता कार्यक्रमका कर्मचारी नआउँदा कार्यक्रममा ढिलाई


सुमन मल्ल,
भदौ ३० मुगु------
संयुक्त राष्ट संघीय विकास कार्यक्र (युएनडिपी ) को आर्थिक सहयोगमा जिल्ला बातावरण तथा ऊर्जा शाखाको समन्वयमा सञ्चालन हुनु पर्ने नेपाल जलवायु परिवर्तन सहायता कार्यक्रका लागि छनौठ गरिएका कर्मचारी नआउदा कुनै काम अघि बढ्न नसकेको जिल्ला बातावरण तथा ऊर्जा शाखा मुगुले जनाएको छ ।
युएनडिपीले यस कार्यक्रमका लागि एक जना जिल्ला संयोजक र एक जना कार्यक्रम अधिकृतको परिक्षा सञ्चालन गरि जुलाई २८ सन २०१३ मा छनौठ समेत गरिसकेको भए पनि डेढ महिनासम्म कर्मचारी जिल्ला नपुग्दा सवै काम रोकिएका छन । जिल्लामा कर्मचारी तत्काल पठाउने भने पनि अहिलेसम्म कोही नआएको र छनौठ गरिएका मध्य कार्यक्रम अधिकृतले जिल्ला जान नचाहेको कुरा युएनडिपीले बताएको ऊर्जा  शाखा स्रोतले जनाएको छ । जिल्ला विकास समितिको मातहतमा जिल्ला ऊर्जा शाखाबाट कार्यक्रम सञ्चालन हुने भए पनि कर्मचारी नआउँदा कुनै काम अघि नबढेको स्थानीय विकास अधिकारी भरत गौतमले बताए ।
 तिन वर्षसम्म सञ्चालन हुने यो कार्यक्रमका लागि जिल्लाका पाँचवटा गाविसहरु रोवा, रुगा, माँग्री , जिमा र सुकाढिक गाविसलाई छनौठ गरिएको छ । तिन वर्षसम्म जलवायु परिवर्तनमा अल्पिकरण र अनुकुलन सम्बन्धि कार्यक्रम सञ्चालन गर्न युएनडिपीको झण्डै ३२ करोड खर्च हुने बताईएको छ । कार्यक्रमका लागि छनौठ गरिएका कर्मचारी को हुन भन्ने पनि थाहा हुन सकेको छैन । अहिले जिल्लामा वर्षाका कारण हवाई तथा सडक यातायात सेवा अवरुद्ध रहेका कारण कर्मचारी आउन सहज नभएको कतिपयको तर्क छ । कुनै पनि कार्यक्रम कहिले कर्मचारीको अभाव , हिउँदमा जाडो, बर्षामा बर्षा र राजनितिक अस्थिरताका कारणले समयमा सम्पन्न गर्न मुश्किल हुने गरेको छ । तर युएनडिपीको कार्यक्रममा समेत विलम्ब हुन थाले पछि यो कार्यक्रम जिल्लामा प्रभावकारी हुनेमा शंका गर्न थालिएको छ । युएनडिपीले जलवायु परिवर्तन सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने भए पछि अब देखि जिल्ला वातावरण तथा ऊर्जा शाखालाई जिल्ला ऊर्जा, वातावरण तथा जलवायु परिवर्तन शाखाका रुपमा पुर्नगठन गरिने भएको छ ।

0 comments

बिचार लेख्नुहोस्..