गाविस सचिव नहुँदा मतदाता शिक्षा कार्यक्रममा ढिलाई


मुगु न्युज डट कम.
कार्तिक १ मुगु --------------
 जिल्लाका २४ वटा गाविसका सचिवहरु दशै विदामा गएका कारण निर्वाचन आयोगले सञ्चालन गर्ने मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ढिलाई हुने भएको छ ।
 जिल्ला निर्वाचन कार्यालय मुगुले जिल्ला भरिमा मतदाता कार्यक्रम सञ्चालन गर्नका लागि मतदाता शिक्षा कार्यकर्ता र मतदाता स्वयम सेवकको नियुक्ति समेत गरि सकेको जनाएको छ । जिल्लाका २४ वटा गाविसका लागि ७७ जना मतदाता शिक्षा कार्यकर्ता र स्वयम सेवक नियुक्त गरिएको र गाविस सचिवको समन्वयमा गाउँमा मतदातालाई संविधान सभा निर्वाचन सम्बन्धि कार्यक्रम सञ्चालन गर्नु पर्ने प्रावधान रहेको जिल्ला निर्वाचन अधिकारी बाबुराम घिमिरेले बताए ।
 जिल्लामा गाविस सचिव नभए पछि जिल्ला मतदाता शिक्षा समन्वय समिति मुगुको बैठकले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न जिल्ला बाहिर रहेका गाविस सचिवहरुलाई तत्काल आफ्नो कार्यक्षेत्रमा उपस्थित गराउन सम्बन्धित निकायलाई लेखि पठाउने निर्णय गरेको छ । कार्तिक पहिलो हप्ताबाट सञ्चालन हुन लागेको मतदाता शिक्षा कार्यक्रमका लागि गाविस स्तरमा मुख्य समन्वयकर्ताका रुपमा रहेका गाविस सचिव नहँुदा कार्यक्रम ढिलाई हुने भए पछि कार्तिक चार गतेसम्म सचिवलाई कार्य क्षेत्र उपस्थित गराउन जिविसलाई कडा निर्देशन गरिसकिएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले जानकारी दिए ।
 समितिको बैठक कक्षबाट नै फोन मार्फत तत्काल सचिवलाई गाविसमा उपस्थित गराउन उनले स्थानीय विकास अधिकारी भरत गौतमलाई निर्देशन दिए । मतदाता शिक्षा कार्यक्रमका लागि सुपरिवेक्षणका रुपमा सम्बन्धित मतदान केन्द्रका प्रधानाध्यापक तोकिएका र प्रधानाध्यापक पनि विदामा गएकाले तत्काल जिल्ला फर्काउनका लागि जिल्ला शिक्षा कार्यालयलाई समेत निर्देशन गरिएको छ ।
यता लामो समय देखि हवाई सेवा समेत अवरुद्ध रहेका कारण तोकिएको समय भित्र दशै विदामा गएका कर्मचारीहरु जिल्ला फर्कन नसकिने भन्दै कतिपयले निर्वाचन सम्बन्धि गतिविधि सञ्चालन गर्न समस्या पर्ने बताई रहेका छन ।

0 comments

बिचार लेख्नुहोस्..