प्रमुख जिल्ला अधिकारीले सामजिक संञ्जाल बन्द गराउने भने पछि कर्मचारीद्धारा आपत्ती
मुगु न्युज डट कम,
मुगु ८ कार्तिक,---------------
जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले कर्मचारीहरु सामाजिक सञ्जाल ट्वीटर, फेस बुकमा बढि व्यस्त हुने गरेको भन्दै कार्यालय समयमा ईन्टरनेट सेवा बन्द गर्न सकिने भने पछि कर्मचारीले आपत्ती जनाएका छन ।
विश्वमा सञ्चारको नयाँ नयाँ प्रविधि विकास भईरहेका वेला मुगुमा बल्ल बल्ल चलेको एडिएसल प्रविधिको ईन्टरनेट सेवा बन्द गराउने कुरा चले पछि कर्मचारीले आपत्ती जनाएका हुन ।
कर्मचारी प्रशिक्षण प्रतिष्ठान ललितपुरको आयोजनामा गमगढीमा सञ्चालन भईरहेको नेपाल सरकारका सहायक स्तरका कर्मचारी तथा श्रेणी विहिन कर्मचारीहरुका लागि सुशासन एवं द्रुत अभिमुखिकरण प्रशिक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बल भद्र गिरीले सेवा ग्राहीलाई सेवा प्रदान गर्ने समयमा सरकारी कार्यालयका कर्मचारीहरु ईन्टरनेट र फेस बुकमा व्यस्त हुने सेवा ग्राहीले सेवा नपाउने भन्दै विहान दश बजे देखि अपरान्ह ४ बजेसम्म ईन्टरनेट बन्द गर्न सकिने कुरा उठाएपछि तालीममा सहभागि कर्मचारीले असहमति जनाएको एक कर्मचारीले बताए । कर्मचारीहरु सामाजिक सञ्जालमा व्यस्त भई सेवा ग्राहीले सेवा नपाएको भन्दै ईन्टरनेट बन्द गराउनु भन्दा अनुगमन निरिक्षणलाई प्रभावकारी बनाउनु पर्ने बताएका थिए ।
प्रमुख जिल्ला अधिकारी गिरीले कर्मचारीहरु फेस बुक र ईन्टरनेटमा व्यस्त हुने कारण नभई कोष तथा लेखा नियन्त्रण कार्यालयमा लेखा सम्बन्धि काम गर्न ईन्टरनेट सुस्त भएका कारण कार्य सम्पादनमा ढिलाई भईरहेकाले काम छिटो सम्पन्न गर्न अन्य कार्यालयमा वितरण गरिएको एडिएसएल सेवा बन्द गर्न सकिन्छ कि भन्ने छलफल मात्र भएको बताए ।
अहिले सदरमुकाम गमगढीमा एडिएसएलका ९६ लाईन वितरण गरिएको छ । १९२ केवि क्षमता रहेको एडिएसएल सेवाको क्षमता बढाउन नसकिने र अब तिहार पछि नेपाल टेलिकमले रिले टावर र वाई म्याक्स प्रविधि जडान गरे पछि ईन्टरनेट सेवा छिटो छरितो हुने नेपाल टेलिकमले जनाएको छ ।
0 comments
बिचार लेख्नुहोस्..