स्याउले बजार नपाउदा सर्व साधारणको दशै खल्लो
सुमन मल्ल,
मुगु न्युज डट कम-----
हवाई जहाज पनि चलेन , सडक यातायात समेत चलेन , रुखमा फलेको स्याउ गोठमा कुहाएर राख्नु परेको छ , समयमा स्याउ विक्रि भएको भए दशै खर्च चल्थ्यो अब दशै कसरी मनाउने भन्ने चिन्ता छ कार्कीवाडा गाविस वडा नम्बर २ का कर्ण बहादुर भामले भने ।
यो पटक सानै खसिको १५ हजार बढि छ , बजार मुल्य पनि उस्तै छ , यता स्याउले बजार नपाउदा लाखौंको स्याउ खेर गएको छ दशै खर्च चलाउन पनि मुश्किल हुने भयो भामले भने ।
अहिले भामका स्याउ बगैचामा धेरै स्याउ फल्यो तर बजार पाएन । उनको गोठमा जताततै स्याउ राखिएको छ धेरै स्याउ त गाई भैंसिलाई कुडो बनाएर दिए । केहि स्याउको रक्सि समेत बनाए तर सोचेको जस्तो आम्दानी हुन सकेन ।
गएको जेठ देखि ताल्च विमान स्थलको सुधार कार्य भईरहेकाले हवाई सेवा अबरुद्ध छ भने नाग्म गमगढी सडक समेत अबरुद्ध छ । बुधवार देखि सडक यातायात सेवा सुचारु भए पनि दशै सबैको घर दैलोमा पुगि सकेकाले स्याउ कृषकहरुले उत्पादन गरेका स्याउले बजार पाउने अबस्था छैन । अहिले गमगढी बजारमा डोकोमा स्याउ बेच्न ल्याउदा पाँच रुपैयाँको दाना पर्छ । कहिले काँही त डोकोको स्याउ समेत विक्रि नभए पछि बजारमा चिने जानेका आफन्तलाई बाँडनु पर्ने बाध्यता रहेको भामले बताए । स्याउ कृषक भाम उदाहरण मात्र हुन । धेरै कृषकको स्याउले यो वर्ष बजार नपाएर खेर गएको छ ।
वडा नम्बर ६ का प्रेम बहादुर रोकायाको बगैचामा फलेको स्याउले बजार नपाई कुहिन थाले पछि खेर जान लागेको स्याउ काम लगाउन रोकायाले १५ हजार हालेर दुई वटा बुंगुर समेत किनेको बताए । स्याउ खेर जान थाले पछि बुंगुर किनेको छु धेरै स्याउ खेर गयो , अब मसंग तिस क्वीन्टल स्याउ बाँकि छ गाडी चले पछि नेपालगञ्ज लिने योजना बनाएको छु रोकायाले भने ।
हवाई यातायात र सडक यातायात बन्द भए पछि भाम र रोकायाको स्याउ जस्तै अन्य कृषकले उत्पादन गरेको स्याउ खेर गएको छ । हवाई यातायात सुचारु हुदा कृषकको बगैचामा फलेको स्याउ बगैचाबाट नै विक्रि हुन्थ्यो भने स्याउ बेचेर दशैका लागि लुगा फाटो, खसि किन्ने कृषकको दशै खल्लो हुने भएको छ । जिल्लाको कार्कीवाडा, पिना, रोवा, रुगा, जिमा, माँग्री, खमाले लगायतका गाविसलाई स्याउको पकेट क्षेत्र मानिन्छ । यो पटक चिनको तिब्बतबाट चिनियाँ खसि नआउदा स्थानीय खसि बोकाको मुल्य आकासिएको छ । १५ देखि २० केजिसम्मको खसिको मुल्य १५ हजार सम्म कायम भएको छ । यस पटकको सर्वसाधारणको दशै मंहगीका कारण नरमाईलो हुने भएको छ ।
0 comments
बिचार लेख्नुहोस्..