निर्वाचन सकेर घोड चढी यात्रामा सरकारी अधिकारीहरु
मुगु न्युज डट कम,
मंसिर १३ मुगु--------------------
संविधान सभा निर्वाचन २०७० सम्पन्न भए लगैतै जिल्लाका सरकारी अधिकारीहरु गैर सरकारी संस्था र सरकारी क्षेत्रबाट भएका विकास निर्माणका गतिविधी अनुगमन गर्न घोडाको सवारीका साथ गाउँमा पुगेका छन ।
कार्तिक अन्तिम साता देखि मंसिर ११ गतेसम्म संविधान सभाको निर्वाचनमा व्यस्त रहेका सरकारी अधिकारीहरु मंसिर बाह्र गते विकास निर्माणका गतिविधि अनुगमन गर्न गाउँ हिडेका हुन । बुधबार सदरमुकाम नजिकको रुगा गाविसको वडा नम्बर ६,७ र ८ बाममा पुगेका सरकारी अधिकारीहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, बन, कृषि , पशु , तथा सामाजिक सुरक्षा कार्याक्रम लगायत गैर सरकारी संस्थाका गतिविधीको अनुगमन गरेका छन ।
बाम गाउँमा पुगेका स्थानीय विकास अधिकारी भरत गौतमले केयर नेपाल र रुगा गाविसको संयुक्त लगानीमा निर्माण कार्य सम्पन्न भएको उप स्वास्थ्य चौकि बामको भवनको उदघाटन गरे भने असल छिमेकि नेपालको झण्डै दुई करोडको लगानीमा निर्माण हुन लागेको सोही गाउँकै निमाविको सोह्र कोठे भवन तथा एसियाली विकास बैंक र नेपाल सरकार सामुदायिक सिचाई आयोजना कार्यक्रमको ३७ लाख लगानीमा निर्माण हुन लागेको सिचाई कुलोको समेत शिलान्यास गरे ।
सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत गाविस मार्फत वितरण गरिने अशक्त, बृद्ध बृद्धा, बालबालिका तथा एकल महिलाले पाउने सुविधा पाए नपाएको विषयमा सर्व साधारणसंग कुराकानी गर्न समेत गौतमले भ्याए । सदरमुकाम देखि घोडामा चढेर पाँच घण्टामा बाम गाउँमा पुगेका जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी भरत गौतम, कृषि कार्यालय प्रमुख रामजी देवकोटा, पशु कार्यालय प्रमुख रामचन्द्र नायक र जिल्ला ईन्जिनियर विरबहादुर रावल पहिलो पटक गाउँ पुगेका हुन । आफ्नो गाउँमा नै पुगेर सेवा सुविधा पाए नपाएको ,कर्मचारी , शिक्षक , स्वास्थ्यकर्मि गाउँमा बस्ने नबस्ने कुरा सरकारी अधिकारीहरुले सोधे पछि स्थानीयवासीहरु पहिलो पटक जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुसंग निकै खुसि देखिन्थे । अहिलेसम्म राज्यले दिएका सेवा सुविधा पाए पनि मुख्य गरेर खानेपानी , बाटो, सिचाई , विद्यालय जस्ता विकासको माग समेत गरे । स्थानीयवासीहरुले यस्ता विकासका लागि सरकारी अधिकारीहरुसंग थुप्रै निवेदन समेत दिए । उनिहरुले राजनीतिक दलका नेताहरुका विकासे नारा चुनाव जित्ने मात्र भएकाले उनिहरुको विश्वास नभएको भन्दै स्थानीयवासीका माग सरकारी निकायका अधिकारीले गरि दिनु पर्ने बताए ।

0 comments
बिचार लेख्नुहोस्..