मतदातालाई धर्म संकट , सुरक्षाकर्मि व्यापक परिचालन
मुगु न्युज डट कम,
कार्तिक २६ मुगु --------------
आगामी मंसिर चार गते हुने संविधान सभा निर्वाचनका लागि मतदान गर्ने कि नगर्ने भन्ने कुराले मतदातालाई धर्म संकट परेको छ ।
संविधान सभाको निर्वाचन हुन हप्ता दिन जसो मात्र बाँकि रहेको वेला चुनाव बहिष्कारमा उत्रेको नेकपा माओवादीले राती राती भुमिगत शैलिमा युद्धकालका जस्ता गतिविधी सञ्चालन गर्न थालेको छ भने सुरक्षाकर्मिहरुले पनि दिउसो बाक्लो उपस्थिती जनाउदा मतदाताले विगतको सशस्त्र युद्धको जस्तो अनुभव गरेको बताई रहेका छन । सरकारले जसरि पनि निर्वाचन सम्पन्न हुने भएकाले सुरक्षा व्यवस्था बलियो पारेकाले मतदाताले ढुक्क भएर मत हाल्न सक्ने बातावरण रहेको बताएको छ । हिजो आज मुगु जिल्लामा नेकपा माओवादीले चुनाव बहिष्कार गतिविधीलाई बढि प्रथामिकता दिएको देखिन्छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने खत्याडका सात गाविसहरुमा कालिकोट, जुम्ला र बाजुराबाट पनि नेकपा माओवादीको कार्यकर्ता आएको बताईएको छ । खत्याडमा प्रत्येक रात जसो विष्फोट हुने गरेको छ भने सोमबार बेलुकि ९ बजे सदरमुकाम नजिकको रुगा गाविसमा समेत तिन वटा विष्फोट हुनुका साथै राँके जुलुश समेत प्रर्दशन गरिएको थियो ।
चुनावमा भाग लिएका दलहरुले मतदातालाई भोट हाल्न आग्रह गरिरहेका छन भने बहिष्कार गरेको नेकपा माओवादीले चार गते जसले मत हाल्न जान्छ उसको घरमा पाँच गते देखि स्थायी पाहुना भएर बस्ने , चुनाव पछि सुरक्षाकर्मि जिल्ला फर्किने र आफुहरुले त्यहि वेला देखाउने भन्न थाले पछि ग्रामीण क्षेत्रका मतदाता धर्म संकटमा परेका हुन । सुरक्षाकर्मि हातहतियार सहित निर्वाचन सुरक्षाका लागि गाउँ घरमा गस्ति गर्ने र माओवादीले राती राती विष्फोटक पदार्थ पड्काउने, राँके जुलुस गर्ने जस्ता गतिविधीले मतदातामा त्रास उत्पन्न भएको छ ।
खत्याड भेकको सुकाढिक गाविस वडा नम्बर २ का स्थानीयवासी धिरज नेपालीले यो पटकको निर्वाचन सवै भन्दा कठिन भएको बताए । उनले भने, संविधान निर्माण गर्ने जस्तो महत्वपुर्ण कामका लागि हुने चुनावमा मतदान गर्नु अनिवार्य छ । मत हाल्न जाउँ माओवादीको धम्की मत नहालौ संविधान निर्माण गर्ने जस्तो महत्वपुर्ण काममा मत छुट्ने , हामीलाई निकै चुनौती छ ।
२०६४ सालको संविधान सभा निर्वाचन भन्दा अहिलेको निर्वाचन निकै असुरक्षित रहेको चुनावमा भाग लिएका उम्मेदवार नै बताई रहेका छन । नेकपा मालेका केन्द्रीय सदस्य एवं समानुपातिक तर्फका उम्मेदवार मानबहादुर शाहीले गाउँ घरमा अवस्था निकै कठिन भएको बताए । दिउसो हात हतियार सहित सेना , सशस्त्र प्रहरी लगायतका सुरक्षाकर्मि गाउँमा घुम्ने र राती नेकपा माओवादीले छापामार शैलिमा गाउँमा पसेर मतदातालाई भोट नहाल्न धम्क्याउने , गाउँ वरपर विष्फोट गराउने गरेका कारण कतिपय मतदाताले भोट हाल्न जान नसकिने बताई रहेका शाहीले बताए । अहिले सदरमुकामका पाँच गाविस श्रीनगर,कार्कीवाडा,पिना, रोवा र रुगामा सवै मतदाताले मतदानमा सहभागिता जनाए पनि सदरमुकाम बाहिरका क्षेत्रमा थोरै मत खस्ने दलहरुले नै पुर्वानुमान गरिरहेका छन । अहिले माओवादीले सदरमुकाम बाहिर खत्याड , सोरु र करान भेकमा निर्वाचन बहिष्कारका लागि राती राती आफ्ना गतिविधी सञ्चालन गरिरहेको छ ।
गाउँ घरका जनताले निर्वाचनसम्म सुरक्षाकर्मिले आफ्नो सुरक्षा गर्ने भए पनि निर्वाचन पछि आफ्नो सुरक्षा हुन नसक्ने भन्दै चुनावमा भागलिन समस्या हुने बताई रहेका छन ।
0 comments
बिचार लेख्नुहोस्..