हिमाली क्षेत्रका स्थानीयवासीहरु मौसमी बसाई सरे


मुगु न्युज डट कम,
मंसिर १८ मुगु-------------------
 जिल्लाको पुर्वि क्षेत्र करान भेकका उच्च हिमाली बस्तिका बासिन्दाहरु जाडो छल्न मौसमी बसाई सर्न थालेका छन । एकै गाउँको गाविस रहेको मुगु गाविस र डोल्फु गाविसका स्थानीयवासीहरु हिउँदको जाडो छल्न औंलतिर बसार सर्न थालेका हुन ।
 विगतका वर्षहरुमा चिसो छल्न औल तिर कार्तिकको अन्त्यतिर बसाई सर्ने स्थानीयवासीहरु यो वर्ष भने संविधान सभा निर्वाचनका कारण मंसिरको मध्य तिर मात्र बसाई सरेका हुन । बौंद्ध मार्गीको मात्र बसोवास रहेका मुगु गाविसका स्थानीयवासीहरु चिसो छल्न आफ्नै गाविसको पिप्लेडी, शिरानी चौर , सदरमुकाम गमगढी , जुम्ला र काठमाण्डौसम्म बसाई सर्ने गर्दछन । मंसिरमा बसाई सरेका यहाँका स्थानीयवासीहरु  गर्मी मौसम सुरु भएपछि चैतको अन्ततिर मात्र गाउँ फर्किने गर्दछन । अहिले  चिसो छल्न गाउँबाट सवै हिडिसकेका र दुई तिन घर परिवार मात्र बाँकि रहेको मुगु गाविस वडा नम्बर ५ का स्थानीयवासी कार्मा छोर्देन लामाले बताए ।
 बसाई सरेसंगै उनिहरुले घोडाहरु आफुसंग लिन्छन भने चौरिलाई हिमाल तिर छोडेर हिड्ने गरेका छन । तर त्यस भेकका अन्य गाउँका स्थानीयवासीहरु चौरी, झोवा र घोडामा साउन महिनामा तिब्बतबाट ल्याएको व्यापारिक सामान बोकाएर जिल्लाका खत्याड , गमगढी तथा छिमेकि जिल्ला बाजुरा र जुम्ला तर्फ लिएर बेच बिखन गरि धान चामल ल्याउने गर्दछन ।
 उच्च हिमाली क्षेत्रमा चिसो बढ्न थाले पछि मुगु गाविसमा रहेको सिमा प्रहरी चौकिका सुरक्षाकर्मि समेत फर्केर सदरमुकाम आई पुगेका छन । चिसो बढेसंगै स्थानीयवासीले गाउ छोडेपछि प्रहरी पनि फर्कनु परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख पुष्कर केसीले जानकारी दिए । विगतका वर्षमा स्थानीयवासीले बसाई सरेपछि सिमाका सुरक्षाकर्मि पुल प्रहरी चौकिमा आएर बस्ने गरे पनि अहिले पुलु प्रहरी चौकिमा भवन अभाव , तथा समस्या हुने भएकाले सदरमुकाममा नै आउनु परेको केसीले बताए ।

0 comments

बिचार लेख्नुहोस्..