गाउँमा हुनु पर्ने तालीम सदरमुकामै सन्चालन


मुगु न्युज डट कम,
मुगु ५ पौष---------------
दुई दिन सदरमुकाम गमगढी आउन लाग्छ । दुई दिन घर फर्किन समय लाग्छ , बजारमा आफन्तहरु कोही छैनन । खान र बस्नको समस्या छ । तालीममा बोलाएर दुख मात्र हुन्छ ,सिकेका  कुरा सबै भुलिन्छ गमगढी गर्ने तालीम गाउँमा नै गर्ने व्यवस्था छैन होला त पत्रकार सर ? महिला तथा बालबालिका कार्यालय मुगुले आयोजना गरेको ७ दिने आधारभुत तालीममा आएकि ह्याँग्लु गाविस वडा नम्बर ५ कि २२ वर्षीया गिता बुढाले प्रश्न गरिन ।
घरबाट तिन दिन लगाएर गमगढी पुग्यौं, होटेलमा खाने बस्ने समस्या छ तालीम गाउँमा नै आयोजना गरेको भए आफ्नै खाना खान्थ्यौ , कर्मचारीलाई पनि खर्च हुदैन थियो तर गमगढीमा तालीमको आयोजना गर्दा खर्च बढि, दुख पनि उतिकै पाईने अब देखि सदरमुकाममा आयोजना गरिएका तालीमहरुमा आउन नसकिने ह्याँग्लु गाविस वडा नम्बर ३ कि संगीता रोकायाले बताईन । सदरमुकाम गमगढी बाहिर रहेका सोरु, खत्याड र करान भेकबाट आएका अधिकाँश महिलाहरुले तालीममा आउदा दिनको दुई सय रुपैयाँ भत्ता दिने गरेको र जसले विहान बेलुकी होटेलमा खाना खाएको तिर्न मात्र पुग्ने गरेको बताए ।
सदरमुकाम गमगढीमा रहेको महिला तथा बालबालिका कार्यालयमा तालीमका लागि आएका सबै जसो महिलाहरुले संगीताका जस्तै प्रश्न र समस्याहरु व्यक्त गरेका छन । महिला विकास कार्यालयद्धारा सञ्चालन हुने सवै जसो तालीम गोष्ठी सदरमुकाममा नै आयोजना गर्ने र टाढा टाढाका गाउँबाट महिलाहरु दुई तिन दिन हिडेर सदरमुकाम पुग्ने गरेका छन भने उनिहरुलाई बजारमा बस्ने र खानाको समस्यासंगै खर्च समेत नपुग्दा थप समस्या व्यहोर्नु परेको सुकाढिक गाविस वडा नम्बर २ कि अमृता कार्कीले बताईन ।
तर महिला तथा बालबालिका कार्यालय मुगुले भने कर्मचारी अभावका कारण भेक क्षेत्रमा हुनु पर्ने तालीम गोष्ठी सदरमुकाममा गर्नु पर्ने बाध्यता रहेको जनाएको छ । महिलाहरुलाई तालीमका लागि सदरमुकाम बोलाउदा कार्यक्रममा तोकिए अनसार दैनिक भत्ता दुई तिन सय र टाढाकालाई यातायात खर्च समेत दिने गरेका बताएको छ ।

0 comments

बिचार लेख्नुहोस्..