स्वास्थ्यकर्मि कार्य क्षेत्र भन्दा सदरमुकाममा केन्द्रित रहेको स्वास्थ्य कार्यालयको दावी


मोहन कुमार मल्ल-
मुगु न्युज डट कम,
मुगु १६ पौष-------------
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु भेकको भिई र धैनकोट गाविसमा मंसिरको अन्तिम साता फैलिएको रुघा खोकिको प्रकोपको मुख्य कारण सम्बन्धित स्वास्थ्य संस्थाहरुका स्वास्थ्यकर्मिहरुको लापर्वाही रहेको जिल्ला स्वास्थ्य कार्यालय मुगुले सार्वजनिक गरेको प्रतिवेदनले जनाएको छ ।
 पौषको पहिलो साता भिई र धैनकोट गाविसमा फैलिएको रुघा खोकिको महामारीले १५ जनाको ज्यान गएको भन्दै २०७० को संविधान सभाको निर्वाचनबाट निर्वाचित भएका मुगुका सभासद मोहन बाँनियाले सवोच्च अदालतमा सरकार विरुद्ध रिट दायर गरेका थिए । महामारी फैलिएको खबर आएपछि जिल्ला स्वास्थ्य कार्यालय मुगुले डाक्टर प्रशान्त कडेंलको नेतृत्वमा औषधी सहितको स्वास्थ्यकर्मिको टोलि खटाएको थियो ।  प्रकोप प्रभावित क्षेत्रबाट फर्किएको टोलिले मंगलबार जिल्ला स्वास्थ्य कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरि सार्वजनिक गरिएको प्रतिवेदन अनुसार रुघा खोकिको महामारी नभई सामान्य रुघा खोकि फैलिएको , ल्याव परिक्षण गर्दा भाईरल निमोनियाँ भएको डाक्टर कडेंलले बताए ।
 प्रकोप प्रभावित क्षेत्रमा खटिएको स्वास्थ्यकर्मिको टोलीले दुवै गाविसमा ३ सय ४३ जनाको स्वास्थ्य परिक्षण गरिएको तथा जसमा २ सय ३३ जनामा रुघा खोकिको संक्रमण देखिएको र १ सय १० जनामा अन्य रोग देखिएको सार्वजनिक गरिएको प्रतिवेदनले जनाएको छ । ३ सय ३६ जना उपचार पछि निको भएका र सात जनालाई रेफर गरिएको समेत उल्लेख गरिएको छ । त्यो क्षेत्रमा ६ क्वीन्टल औषधी पुगेको र कुल खर्च पाँच लाख चौध हजार भएको कार्यालयले जनाएको छ ।
सर्वोच्चमा दायर गरिएको रिटमा १५ जनाको मृत्यु भएको भनिए पनि रुघा खोकिका कारण नभई आफ्नै कालगतिले अलग अलग अलग समयमा दुवै गाविसमा ९ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । भिईमा मंसिर २६ र २७ गते दुई जना वृद्धा वृद्धको मृत्यु भएको, धैनकोटमा कार्तिक महिना देखि मंसिर अन्त्यसम्म आफ्नै कालगतिले सात जनाको मृत्यु भएको कार्यालयको प्रतिवेदनले जनाएको छ । मृत्यु हुनेहरु सबै पहिले देखि बल्झिएको दिर्घ रोगि रहेको तथा मृतक सवै पचास वर्ष माथीको उम्मेरका रहेका प्रतिवेदनमा उल्लेख छ । यसरी मृत्यु हुनेमा भिई गाविसका धनरुप सेजुवाल, बाँचु धामी , धैनकोट गाविसका फगु रोकाया,सर्जन रोकाया,बलबहादुर मल्ल,कौशिला मल्ल, मन्सु जैसि , कुसुकला नेपाली र जाड नेपाली रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
 लामो समय देखि दुवै गाविसमा रहेका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मि नबसेको र स्वास्थ्यकर्मि नबसेकै कारण सामान्य अबस्थाको रुघा खोकिले प्रकोपको रुप लिएको आफुले पाएको डाक्टर कडेलले बताए । सामान्य रुघा खोकि लाग्दा पनि स्वास्थ्य संस्थाबाट सिटामोल समेत पाउन नसकेको तथा सधै स्वास्थ्य संस्था बन्द रहने गरेको स्थानीयवासीको गुनासो आएको डाक्टर कडेंलको भनाई छ । प्रकोप प्रभावित गाविसमा रहेका स्वास्थ्य संस्थामा मात्र स्वास्थ्यकर्मि नबस्ने समस्या नभएर जिल्लाका २४ वटै गाविसमा यस्तो समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रोशनलाल चौधरीले बताए । पत्रकार सम्मेलनमा सञ्चारकर्मिका प्रश्नको जवाफ दिदै कार्यालय प्रमुख चौधरीले भने, यो समस्या सवै गाविसका स्वास्थ्य संस्थामा छ , कारवाहीको प्रक्रिया थाल्दा वितिकै राजनितीक क्षेत्रबाट ठुलो दवाव आउछ । कार्यालय एक्लैले समस्या समाधान गर्न नसक्ने भएकाले राजनितिक दल, नागरिक समाज, पत्रकार, सरोकारवाला सवैको सहयोग हुन आवश्यक छ चौधरीले भने ।
 जिल्ला भरिमा जिल्ला अस्पताल, प्राथामिक स्वास्थ्य केन्द्र, उप स्वास्थ्य चौकि, ईलाका स्वास्थ्य चौकि र स्वास्थ्य चौकि गरेर २६ वटा स्वास्थ्य संस्था रहेका छन । जिल्ला भरिमा अहिले पनि पाँच जना हेल्थ अशिस्टेन्ट,११ अनमी,१० जना अहेव र १ जना स्टाफ नर्श गरेर २७ जना स्वास्थ्यकर्मिको दरबन्दि रिक्त रहेका छन ।

0 comments

बिचार लेख्नुहोस्..