मुगुमा हिउँ पर्न सुरु,किसानहरु खुशी,व्यापारी चिन्तित,यात्रु अलपत्र


मुगु न्युज डट कम,
मुगु १६ पौष-----------------
मुगुमा पौष महिनाको पहिला साताबाट चिसो बढेसंगै गए  रातीबाट हिउँ पर्न थालेपछि समय मै हिउँ परेको भन्दै हिउदेवाली राम्रो हने भन्दै यहाँका कृषकहरु खुशी भएका छन भने वर्षाका कारण चार महिना बन्द भएर गत कार्तिकबाट सुचारु भएको सडक अवरुद्घ भई व्यापारीक सामान ढुवानीमा कठिनाई हुने भन्दै व्यापारीहरु चिन्तीत भएका छन । गएको हिउँदमा भन्दा यो वर्ष २० दिन अगावै हिमपात भएको छ । गएको वर्ष माघ ४ गतेबाट हिमपात हुन सुरु भएको थियो ।
हिमपातले व्यापारीलाई चिन्ता र किसानलाई खुसि बनाएसंगै रारा ताल्च विमान स्थलमा नेपालगञ्ज, सुर्खेत तथा राजधानी झर्ने विरामी र सर्व साधारण यात्रुहरु अलपत्र परेका छन । विमान स्थलमा हिउँ जमेपछि सवै भन्दा बढि विरामीलाई सकस भएको छ । औषधी उपचार गराउन नेपालगञ्ज जानका लागि ताल्च विमान स्थलमा एक हप्ता देखि टिकट करिरहेकि शान्ति विटालुले भनिन , आईतबार पाएको हवाई टिकटमा पनि रेडक्रसका कर्मचारीका कारण जान पाईएन । हिउँ परिसक्यो , तिन महिनाको बच्चा समेत विरामी छ , जुम्लाबाट जाउँ भने पनि हिउँको बाटो कसरी जाने ? समस्या र दुख गरीबलाई मात्र पर्ने रहेछ उनले भनिन् ।
पौष महिना लागेसंगै चिसो बढे पनि दिउसो आकास सफा हँुदा न्यानो भैहाल्थ्यो हिजो दिनभर घाम लाग्यो आज एक्कासी रातीबाट हिउँ पर्न थाल्यो व्यापारीक सामानहरु विच बाटो मै अलपत्र पर्ने भयो, सडक विभाग चहार्दा चहार्दा बर्षाको पानीले विगारेको नाग्म गमगढी सडक बल्ल बल्ल मंसिरको दोस्रो साताबाट मालबाहक गाडीहरु ढुक्कसंग चल्न थालेका थिए बाटो मर्मत हुदै छ हिउँ पर्न थाल्यो फेरीबाटो विग्रने भयो, उद्योग बाणिज्य संघ मुगुका अध्यक्ष नरवीर रावतले  चिन्ता व्यक्त गरे ।
दैनिक जसो २० वटासम्म मालबाहक गाडी सुर्खेत नेपालगञ्ज देखि मुगु सदरमुकाम गमगढीसम्म व्यापारिक सामान बोकेर आउने गरेका थिए । मंगलवार विहान देखि नै हिउँ पर्न थाले पछि गमगढी पुगेका गाडी गमगढीमा नै छन भने बाटोमा रहेका गाडी बिचमा नै रोकिएका छन । हिमपातले सडक अबरुद्ध भएपछि व्यापारिक सामान रोकिने हुँदा हिउँ पन्छाउनका लागि सडक विभागले आवश्यक व्यवस्था गरिदिए हुन्थ्यो भन्नेमा छन अध्यक्ष रावत । यता व्यापारीले हिउँ पर्दा व्यपार व्यवसाय र सडक अबरुद्ध हुने चिन्ता व्यक्त गरिरहँदा किसानहरु भने समयमा हिमपात भएकोमा हिउँदे बालीको उत्पादन राम्रो हुनेमा खुसि छन । एका विहानै गमगढी बजारमा तरकारी बेच्न आएका कार्कीवाडा गाविस वडा नम्बर ७ का रतनबहादुर कार्कीले खुसि व्यक्त गर्दै भने, यो वर्ष समयमा नै हिउँ परेको छ , जहुँ गहुँको उत्पादन राम्रो हुने भयो , रुघा खोकि जस्ता रोग पनि नफैलिने भयो ।
हिमपातका कारण अत्याधिक जाडो भए पछि गमगढी बजार सुसान छ । जिल्लाका करान क्षेत्रका मुगु, किम्री,पुलु,डोल्फु, र माँग्री , सदरमुकाम आसपासका रोवा ,रुगा ,पिना,श्रीनगर र कार्कीवाडा ,खत्याड क्षेत्रका सेरी,श्रीकोट,खमाले र गम्था तथा सोरुका रारा,कालै,धैनकोट,जिमा र फोतु गाविसहरुमा बढि हिमपात हुँदा जनजीबन कष्टकर बनेको छ ।

0 comments

बिचार लेख्नुहोस्..