ब्राहमण पुरोहित नचाहिने गाउँ


मुगु न्युज डट कम ,
मंसिर २० मुगु-------------------
 हरेक जातजाती , धर्म र समुदायमा मान्छेले विहा बारी, मर्दा पर्दा आ आफ्नो परम्परा अनुसार पुरोहित वा पण्डितबाट पुजा पाठ गराउने भए पनि मुगु जिल्लाको रुगा गाविस वडा नम्बर ६,७ र ८ वडाका स्थानीयवासीहरुले राम्रा नराम्रा कुनै पनि काममा बाहुन नराख्ने परम्परालाई निरन्तरता दिदै आएका छन ।
 बाम गाउँका यि स्थानीयवासीहरुले जन्म, मृत्यु , विवाह, बर्तबन्ध लगायतका संस्कृतिक परम्परामा बाहुन पण्डितको सट्टा लडीपाल नामक कुल देवताका धामीबाट पण्डितको काम गर्ने गरिरहेका छन । पुर्वजको परम्परा देखि सबै नित्य कर्म गर्दा देवताले नै गर्ने भएकाले अहिलेसम्म बाहुन पण्डितबाट कुनै काम नहुने वडा नम्बर ७ बामका ९० वर्षीय जोरासिंह बढुवालले बताए ।
 यसो त उनिहरुले पहिलो छोराको जन्म हुँदा नत छैठी नत न्वारान नै गर्छन । छोरा जन्मेको तिन वर्ष पछि मात्र छैठी गर्ने परम्परा रहेको स्थानीयवासीले बताए । सुत्केरी भएको वेला देवता पनि नचल्ने र बच्चा जन्मदा वितिकै भोज भतेर गर्दा कारण वस बच्चाको मृत्यु हुँदा खर्चमात्र हुने भएकाले तिन वर्ष पछि छैठी गर्ने परम्परा रहेको हुन सक्ने स्थानीय युवा तथा शिक्षक सोभानसिंह बढुवालले बताए ।
 गाउँमा कोहि मान्छेको मृत्यु हुँदा पनि खोलामा नभई गाउँ नजिक रहेको फलाता भन्ने डाँडामा दाह संस्कार गर्ने गर्दछन । मान्छे मरे पछि तत्काल काज क्रिया समेत गर्न नहुने परम्परा रहेको स्थानीयवासी कन्नसिंह बुढाले बताए । हिउँदमा मरेको मान्छेको काज क्रिया जैन पुर्णिमाको दिन र बर्खामा मरेको मान्छेको काज क्रिया पौस शुक्ल पुर्णिमाको दिन मात्र गर्ने परम्परा रहेको छ । मान्छे मरेको १३ दिन पछि देवतालाई दिन माग्ने र जनै पुर्णिमाको बेला देवताले दिएको दिन अनुसार मृतकको अस्तु पवित्र तिर्थ स्थल छाया नाथ, ऋणी मोक्क्ष र दुधे दहमा सेलाएर फर्किए पछि एकै दिनमा क्रिया कर्म गर्ने परम्परा रहेको स्थानीयको भनाई छ । देवताले भने जस्तो नगरे देवि देवता रिसाएर अनिष्ट हुने डरले यो परम्परा कायम रहेको केहि युवाको तर्क छ ।
रुगा गाविसको वडा नम्बर ८ फोईपाटा गाउँमा दशैको अष्टमीको दिनमा खसि, बोकाको बलि दिन नपाईने परम्परा छ भने भैंसि समेत नपाल्ने परम्परा कायम रहेको छ । गाउँमा कुल देवताका रुपमा भवानी मान्ने भवानीलाई गाईको दुध मात्र चढ्ने भएकाले अष्टमीमा खसि,बोकाको बलि दिन नहुने र गाउँमा भैसि समेत पाल्न नहुने स्थानीयवासी माघे बढुवालले बताए । उनले भने धेरै पटक तिन चार जनाले भैंसि पाल्ने प्रयास गरे तर भैंसि जोगाउन सकेनन । रुगा गाविसका वडा नम्वर ६, ७ र ८ बाम गाउँमा क्षेत्रि समुदायको मात्र बसोबास रहेको छ ।

0 comments

बिचार लेख्नुहोस्..