जिल्लाको पहिलो छाउपडी मुक्त गाविस घोषणा गरिदै
मुगु न्युज डट कम,
मंसिर २३ मुगु-------------------------
परम्परा देखि जिल्लामा व्याप्त रहेको छाउपडी प्रथा अन्त्य गर्नका लागि जिल्लाका विभिन्न गाउँ वस्तीमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिए पछि अहिले पहिलो पटक रोवा गाविसलाई छाउपडी मुक्त गाविस घोषणा गर्न लागिएको छ ।
अहिलेसम्म खुला दिसा मुक्त घोषणा गरिएका दशवटा गाविस मध्य पहिलो गाविस रहेको रोवा गाविसले छाउपडी प्रथा मुक्त घोषणा गर्ने गाविसको सुचिमा पहिलो हुने गरि अभियानलाई तिब्र पारेको गाविसका प्राविधिक सहायक जितेन्द्र कुमाईले बताए ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा महिला तथा बालबालिका कार्यालय, स्वास्थ्य , शिक्षा, जिविस , प्रशासन लगायतका सरकारी तथा गैर सरकारी संस्था सम्मीलित एक टोली महिला हिंसा र छाउपडी अबस्थाका विषयमा शनिवार रोवा गाविसमा अनुगममन गर्न पुगेका वेला त्यहाँका स्थानीयवासीले विगतमा महिनावारी भएपछि गोठमा बस्दै आएका महिलाहरु अहिले घर भित्र बस्ने गरेकाले गाविसलाई छिट्टै छाउपडी प्रथा मुक्त गाविस घोषणा गर्न अन्तिम तयारी भईरहेको बताए ।
छुई प्रथा उन्मुलनका लागि हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक नामक गैर सरकारी संस्थाले गाविस स्तरमा छाउपडी प्रथा उन्मुलनका लागि गाविस स्तरिय निगरानी समिति गठन गरि विभिन्न तालीम गोष्ठी तथा जनचेतना मुलक कार्यक्रम सञ्चालन गरे पछि छाउपडी मुक्त गाविस घोषणा गर्न सहज भएको स्थानीयवासी धर्मदत्त बुढाले बताए । उनले भने , म आफै देवताको धामी हुँ यो अभियानमा आफै खटेको छु । गाविसमा रहेका १ हजार ३९ घरधुरी मध्य धामी, र झाँक्रि भएका जम्मा ८ घर परिवारले छुई भएका बेला महिलालाई घर भित्र राख्न सहमत नभएको बुढाले बताए । अन्य सवै घर धुरीले छुई भएका वेला महिलालाई घर भित्रै बसाल्ने , नियमीत सरसफाई गर्न लगाउने , दुध दहि खान दिने गरिरहेको निगरानी समितिका सदस्य बुधु बुढाले बताईन ।
महिला हिंसाको सुरुवात नै महिनावारी पहिलो कारण भएकाले यो प्रथालाई अन्त्य गर्न जिल्ला भरि नै छाउपडी प्रथा विरुद्ध अभियान सञ्चालन गर्न आवश्यक रहेको महिला तथा बालबालिका कार्यालय मुगुका प्रमुख अनिता ज्ञवालीले बताईन ।
गाउँ गाउँमा छाउपडी प्रथा उन्मुलनका लागि अभियान सञ्चालन गर्न थाले पछि रोवा गाविसमा रहेको प्रभात उच्च माध्यामिक विद्यालयले पनि महिनामा तिन पटकसम्म महिलाको प्रजनन स्वास्थ्य, महिनावारी हुने प्रक्रिया र महिला हिंसा सम्बन्धि कक्षा सञ्चालन गरिरहेको विद्यालयका शिक्षक तिलकमान खडकाले बताए ।
जिल्लामा महिला महिनावारी हुँदा गोठमा राख्ने, दुध दहि, घिउ जस्ता पोषिलो कुरा खान नदिने , गाई वस्तु , बोट विरुवा छुन नदिने , घर भित्र बस्दा देवी देवता रिसाउने र अनिष्ट हुन्छ भन्ने परम्परागत रुढिवादी विश्वास विद्यमान छ ।

0 comments
बिचार लेख्नुहोस्..