अज्ञात रोगले पशु वस्तु मर्न थाले पछि कृषक चिन्तित
मुगु न्युज डट कम,
पौष २९ मुगु-----------
जिल्लाको उत्तरी क्षेत्र सोरु भेगका भिई र धैनकोट गाविसमा फैलिएको अज्ञात रोगका कारण पशु बस्तु मर्न थाले पछि स्थानीयवासीहरु चिन्तित हुन थालेका छन ।
गाई वस्तुको पेट एकाएक फुल्ने , केहि समयपछि मुखबाट फिज आउने र त्यसको केहि समय भित्र मर्ने गरिरहेको भिईका स्थानीयवासी रण बहादुर बुमीले बताए । गाविसका ९ वटै वडामा पुषको दोस्रो हप्ता देखि फैलिएको अज्ञात रोगका कारण अहिलेसम्म दुई दर्जन गाई गोरु मरिसकेको स्थानीयवासी छत्र बुमीले जानकारी दिए ।
यता धैनकोट गाविस वडा नम्बर २ दई गाउँमा फैलिएको रोगका कारण गाउँका स्थानीयवासीले पालेका करिब चार दर्जन गाई गोरु मरिसकेको धैनकोटका स्थानीयवासी लाल चन्द्र जैसिले बताए । करिब महिना दिन देखि फैलिएको अज्ञात रोगका कारण स्थानीयवासीले पालेका दर्जनौ पशु वस्तु मरे पनि जिल्ला पशु सेवा कार्यालय मातहतका सेवा केन्द्रमा पशु स्वास्थ्य प्राविधिक समेत नरहेको स्थानीयवासीको भनाई छ । पशु उप सेवा केन्द्र भिई र उप सेवा केन्द्र कालैमा महिनौ देखि पशु प्राविधिक नरहेको तथा केन्द्रका कार्यालय बन्द रहेकाले समयमा नै पशु पालक कृषकहरुले सेवा पाउन सकेका छैनन ।
धैनकोट हेर्ने पशु उपसेवा केन्द्र कालैमा कार्यरत पशु स्वास्थ्य प्राविधिक सरुवा भईसकेको अवस्था रहेको तथा भिई उप सेवा केन्द्रमा कर्मचारी नभएको सुन्नमा आएकाले तत्काल समबन्धित सेवा केन्द्रका कर्मचारीलाई गाविसमा फैलिएको अज्ञात रोगको विस्तृत अध्ययन प्रतिवेदन पेश गर्न पत्रचार गरि सकिएको जिल्ला पशु सेवा कार्यालय मुगुले जनाएको छ । पशु स्वास्थ्य प्राविधिकको अध्ययन प्रतिवेदन आईसकेपछि मात्र औषधी सहितको पशु स्वास्थ्य प्राविधिकको टोली खटाईने पनि कार्यालयले बताएको छ ।
0 comments
बिचार लेख्नुहोस्..