सदरमुकाम गमगढीमा नै सुरु भयो हिमपात

मुगु न्युज डट कम ,
मुगु पौष २७-----------------------
शनिवार विहानै देखि बादलले आकास ढाके संगै मध्यान्ह देखि हिमपात सुरु भएको छ भने हिमपातका कारण चिसो बढ्दा जन जीबन कष्टकर बन्दै गएको छ ।
 सदरमुकाम गमगढी बजार चिसोका कारण विहानै देखि बन्द रहेको छ । मानिसको आवत जावत र चहल पहल समेत कम छ । सदरमुकाममा समेत हिमपात सुरु भएको छ भने सदरमुकाम  आसपासका रारा , ताल्च, पिना, रोवा , रुगा, माँग्री, पुलु,किम्री, डोल्फु , मुगु , खमाले , सेरी, जिमा फोतु ,कालै , धैनकोट लगायतका गाविसमा रहेका उच्च हिमाली बस्तीमा हिमपात भईरहेको छ । हिमपातका कारण पशु चौपाया बनमा लिन नसकिएको तथा मान्छेलाई घर बाहिर निस्किन समेत गाह्रो भईरहेको स्थानीयवासीले बताएका छन ।
पुष मध्य तिर भएको हिमपातका कारण अबरुद्ध भएको सडक यातायात र हवाई यातायात सुचारु भएको हप्ता दिन नपुग्दै पुन दोस्रो पटक सुरु भएको हिमपातले पुर्ण रुपमा हवाई तथा सडक यातायात अबरुद्ध हुने देखिएको छ । सुर्खेत नेपालगञ्ज देखि मुगु सदरमुकाम गमगढीका लागि व्यापारिक सामान बोकेर आएका मालबाहक गाडी सिंजाको गोठी जिउला, घुच्चि लेकमा रोकिएका छन भने मुगु देखि सुर्खेतका लागि हिडेका गाडीहरु पनि बिचमा नै रोकिएका गमगढीका व्यापारीले बताएका छन । व्यापारिक समान हिमपातका कारण विचमा नै रोकिए पछि व्यापारिहरु चिन्तित भएका छन ।
 यो वर्ष गत वर्ष भन्दा २० दिन अगाडी नै हिमपात सुरु भएको छ भने यो दोस्रो पटकको हिमपात हो । पौष १५ गते सदरमुकाम गमगढीसम्म नै एकाएक हिउँ झरे पछि जनजीबन प्रभावित बनेको थियो । यो पटक उच्च हिामाली क्षेत्रबाट विस्तारै हिमपात सुरु भएको यो क्रम लामो समयसम्म रहनसक्ने बुढा पाकाको अनुमान छ । लामो अबधीसम्म हिमपात हुँदा सदरमुकामलाई समेत हिउँले ढाक्न सक्ने अनुमान बुढा पाकाले गरेका छन ।
विहानै देखि हिमपात सुरु हुँदा चिसो बढे पछि गमगढी बजारको बिच सडकमा आगो बालेर चिसो छल्न खोज्नेहरु पनि धेरै देखिएका थिए ।

0 comments

बिचार लेख्नुहोस्..