ज्यान मार्ने उद्योगमा फरार रहेका दुई जना काठमाण्डौमा पक्राउ
सुमन मल्ल-------------
मुगु न्युज डट कम,
माघ २ मुगु--------
सदरमुकाम गमगढीमा आयुर्वेदिक औषधी पसल सञ्चालन गर्दै आईरहेका पिना गाविस वडा नम्बर २ निवासी २४ वर्षीय खडगबहादुर शाहीलाई खुकुरी प्रहार गरि फरार रहेका कार्कीवाडा गाविस भामबाडा गाउँका दुई जना युवा बुधबार काठमाण्डौबाट पक्राउ परेका छन ।
माघी पर्वका अवसरमा थारु समुदायले राजधानीको खुलामञ्चमा आयोजना गरेको कार्यक्रम हेर्न गएका बेला फरार रहेका नेत्र भाम र रामशरण भामलाई निवेदकको जानकारी पछि प्रहरी वृत सोह्र खुट्टेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । निवेदकको जानकारीका आधारमा फरार रहेका अभियुक्तलाई भाग्दै गर्दा प्रहरीले पक्राउ गरि प्रहरी वृत सोह्र खुट्टेमा हिरासतमा राखिएको बताईएको छ ।
पक्राउ परेका अभियुक्तलाई राजधानीबाट जिल्ला प्रहरी कार्यालय मुगुमा पठाउने प्रक्रिया चलिरहेको प्रहरी वृत्त सोह्र खुट्टेका प्रहरी अधिकारीले जानकारी दिए । पक्राउ परेका दुवै जनाले गमगढीमा औषधी व्यवसाय गरिरहेका शाहीलाई मंसिर २४ गते साँझ मामाको घर श्रीनगर तर्फ जाँदै गर्दा गाउँ नजिकै खुकुरी प्रहार गरि गम्भीर घाईते बनाएका थिए । शाहीलाई तत्काल जिल्ला अस्पतालमा उपचार गर्न लगिए पनि अवस्था गम्भिर भए पछि थप उपचारका लागि भारतको लखनउ लगिएको थियो भने अभियुक्त नेत्र र रामशरण भामलाई जिल्ला प्रहरी कार्यालय मुगुमा मंसिर ३० गते ज्यान मार्ने उद्योग दर्ता गरिएको थियो । खुकुरी प्रहार गरि फरार रहेका अभियुक्त भागेर राजधानी पुगेको थाहा पाए पछि लखनउबाट उपचार गरि नेपालगञ्ज पुगेका शाही राजधानी गएका थिए ।
खुकुरी प्रहार गरि फरार रहेका अभियुक्तको नाममा वारेण्ट जारी गरि खोजि कार्य चलिरहेको अवस्थामा राजधानीमा पक्राउ परेकालाई मुगु ल्याउन प्रक्रिया चलिरहेको तथा गाडी र जहाँजबाट आउनु पर्ने भएकाले मुगु पुग्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख पुष्कर केसीले बताए ।
0 comments
बिचार लेख्नुहोस्..