दुई शिक्षक दश विद्यार्थी
मुगु न्युज डट कम,
माघ ११ मुगु----------------
सदरमुकाम गमगढी रहेकै गाविसको एउटा प्राथामिक विद्यालयमा शिक्षक विद्यार्थीको अनुपात नमिले पनि विद्यालय सञ्चालन भईरहेको छ ।
श्रीनगर गाविस वडा नम्बर चारमा तिन कक्षासम्म सञ्चालित कर्णाली प्राथामिक विद्यालय घाटमा दुई जना स्थायी शिक्षकको दरबन्दि रहेको छ भने त्यहाँ अध्ययनरत विद्यार्थीको संख्या १० रहेको छ ।
कक्षा १ मा १ जना, २ मा ५ जना र ३ कक्षामा ४ जना विद्यार्थी रहेका छन । १२ घरधुरी स्थायी र १२ घर धुरी अस्थायी रहे पनि अधिकाँश अभिभावकले विद्यालयमा शिक्षकको अनियमितता हुँदा पढाई राम्रो नभएपछि गमगढीमा रहेका निजी विद्यालयमा भर्ना गर्नु परेको अभिभावकको भनाई छ । प्राय जसो घरधुरीमा रोजगार रहेकाले उनिहरुका बालबालिका निजी विद्यालयमा भर्ना हुँदा विद्यालयमा विद्यार्थी संख्या घटेको विद्यालयका प्रधानाध्यापक गगनबहादुर शाहीले बताए । तर एक त शिक्षकको अनियमितता अर्को तर्फ दुई जना शिक्षकले पालै पालो विद्यालय आउने गरेको अभिभावकको दावी छ ।
शिक्षा नियमावली अनुसार हिमाली जिल्लामा एक जना शिक्षक अनुपातमा चालिस जना विद्यार्थी, पहाडमा ४५ र तराईमा ५० जना विद्यार्थी बराबर एक जना शिक्षक हुने व्यवस्था रहे पनि जिल्लाका अधिकाँश विद्यालयहरुमा शिक्षक विद्यार्थी अनुपात मिलेको छैन । कतिपय विद्यालयमा शिक्षक दरबन्दी बढि विद्यार्थी कम तथा विद्यार्थी बढि शिक्षक दरबन्दि कम रहेको पाईएको छ ।
प्रावि घाटमा आठ जना विद्यार्थीका लागि दुई जना शिक्षक रहेको देखिए पछि अब त्यो विद्यालयलाई नजिकको अर्को विद्यालयमा गाभ्ने तयारी भईरहेको जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ । शिक्षक विद्यार्थी अनुपात अनुसार विद्यालय गाभ्नका लागि विद्यालय समायोजन निर्देशिका बनिरहेकाले कम विद्यार्थी बढि शिक्षक भएका विद्यालयलाई जसरी पनि गाभिने जिल्ला शिक्षा अधिकारी मान बहादुर घिमिरेले बताए ।
यो विद्यालय देखि गमगढीमा रहेको महाकाली उच्च मावि र निमावि भारे । कोट टाढा रहेकाले साना बालबालिका ति विद्यालय सम्म पुग्न नसक्ने अबस्था रहेकाले विद्यालय गाभ्दा झन समस्या आउन सक्ने स्थानीय अभिभावकको भनाई छ

0 comments
बिचार लेख्नुहोस्..