मुगु जिल्ला अबको दुई वर्ष भित्र स्याउ आत्म निर्भर जिल्ला बन्दै


मुगु न्युज डट कम,
मुगु १४ माघ----------
अबको दुई वर्ष भित्र मुगु जिल्ला स्याउ उत्पादनमा आत्म निर्भर हुने जिल्ला कृषि विकास कार्यालय मुगुले जनाएको छ ।
अहिले जिल्ला भित्रकै स्याउ नर्शरी धनिले २४ हजार स्याउका विरुवा उमार्न सफल भएका र अर्को बर्ष जिल्लालाई आवश्यक पर्ने विरुवा उत्पादन गरि विरुवामा समेत आत्म निर्भर बनाउने तयारी भईरहेको जिल्ला कृषि विकास कार्यालय मुगुका प्राविधिक सहायक लालबहादुर खत्रिले बताए । अवको दुई वर्ष पछि मुगुले दुई हजार मेट्रिक टन स्याउ बाहिरी जिल्लामा निर्यात गर्न सक्ने खत्रिले बताए ।
यो वर्ष जिल्ला कृषि विकास कार्यालय मुगुले जिल्ला भित्रकै स्याउ नर्शरी धनिले उत्पादन गरेका २४ हजार विरुवा कृषकलाई वितरण गरेको छ । कर्णाली स्याउ आत्म निर्भर कार्यक्रम अन्र्तगत कार्यालयले कृषकलाई पचास प्रतिशत अनुदान (बाह्र रुपैयाँ) र कर्णाली तथा कृषि प्रसार कार्यक्रम अन्र्तगत ९५ प्रतिशत अनुदान (पाँच रुपैयाँ )मा स्याउका विरुवा वितरण गरिरहेको छ । कार्यालयले स्याउका प्रति विरुवाको खरिद मुल्य २५ रुपैया रहेको जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा जिल्ला भरिमा ३३ हजार स्याउका विरुवा वितरण गरेको कार्यालयले यो वर्ष जिल्ला भित्रै उत्पादन भएका २४ हजार विरुवा वितरण गरेको छ भने बाँकि नपुग विरुवा छिमेकि जिल्ला जुम्लाबाट ल्याउने तयारी गरिरहेको छ । जिल्ला भरिका २४ वटै गाविसमा कति स्याउका विरुवा आवश्यक पर्छ भनेर अहिले कार्यालयले प्राविधिकहरुको टोलि खटाएर बगैंचा नक्साङ्कन गर्ने कार्य समेत भईरहेको जनाएको छ । अहिले जिल्लामा गोल्डेन,भान्स डेलिसियस,रेड डेलिसियस,रिचा रेड,अन्ना, चक्लेटी, ओरेन्ज पिपिन, जोनाथोम गरेर आठ प्रजातीका स्याउ फल्ने गरेको कृषि प्राविधिकको भनाई छ ।

 पचासको दशक देखि कार्यालयले जिल्लामा स्याउका विरुवा वितरण गर्न सुरु गरेको थियो । २०५७ सालमा कर्णाली अञ्चल विशेष कार्यक्रम अन्र्तगत कार्यालयले भारतको हिमाञ्चल प्रदेशबाट ५ हजार २ सय र जिल्ला भित्रैबाट ३ हजार गरि ८ हजार २ सय स्याउका विरुवा वितरण गरेपछि अहिलेसम्म लगातार लाखौ रकम खर्च गरेर कृषकहरुलाई स्याउका विरुवा वितरण गरिरहेको छ ।  कृषकहरुलाई समुह तथा व्यक्तिगत रुपमा विरुवा उपलब्ध गराउदै आए पनि आवश्य संरक्षण , पशु वस्तु नियन्त्रण तथा प्राविधिक जनशक्ति अभावका कारण स्याउ उत्पादनमा सोचे जतिको उपलब्धी आउन नसके पनि पछिल्ला वर्षहरुमा अवस्था सुधार हुँदै आएको कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय मातहतका चारवटा सेवा केन्द्रका लागि आठ जना प्राविधिक सहायक रहेका र जिल्लामा रहेको ९ हजार ६ सया घरधुरी हेर्न एक जनालाई १२ सय घरधुरी पर्ने कार्यालयको भनाई छ । स्याउका विरुवा रोपे दखि राम्रो स्याहार गर्ने हो भने विरुवा रोपेको तिन वर्षमा नै फल्न सुरु हुने तथा पाँच वर्ष पुग्दा परिपक्व हुने प्राविधिक सहायक खत्रिले बताए ।
पछिल्ला समयमा जिल्ला भित्रकै कृषकहरु स्याउका विरुवा उत्पादन गर्न र स्याउ खेति तर्फ आकर्षित भईरहेका छन । अहिले जिल्लामा स्याउ नर्शरी उत्पादन गर्ने कृषकको संख्या दर्जन पुगेको छ भने यो वर्ष जिल्ला भित्रै २४ हजार विरुवा उत्पादन भएकोमा आउदो वर्ष ४० हजार विरुवा उत्पादन हुने कार्यालयले अनुमान गरेको छ ।

0 comments

बिचार लेख्नुहोस्..