पाँच गाविसको पहिलो आवासीय छात्रावास


सुमन मल्ल
मुगु न्युज ढट कम
 (माँग्री )माघ १३ मुगु
 जिल्लाको पुर्वि करान क्षेत्रका मुगु,डोल्फु,किम्री,पुलु र माँग्री गरि पाँचका गाविसका छात्राहरुलाई  समेट्ने गरि माँग्री गाविसमा रहेको बुद्ध उच्च माध्यामिक विद्यालय माँग्रीमा सुविधा सम्पन्न आवासिय छात्रावास सञ्चालनमा आउने भएको छ ।
पाँच गाविसमा एउटा मात्र माध्यामिक तहको पठन पाठन हुने माँग्रीमा आवासिय छात्रावास सञ्चालनमा आए पाँच गाविसमा रहेका छात्राहरुका लागि सहज हुने जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ । जनजातीहरुको मात्र वसोवास रहेको यस क्षेत्रमा छोरा छोरीलाई विद्यालयमा पठाउनु भन्दा व्यापार व्यवसायमा लगाउँदै आएका अभिभावकले पछिल्लो समयमा आफ्ना छोरा छोरीलाई विद्यालय पठाउन खोजे पनि गाउँमा प्राथामिक तहको पढाई सके पछि नजिक मावि तहको विद्यालय नहुँदा समस्यामा परिरहेका र अब आवासिय छात्रावासको व्यवस्था हुँदा विद्यालयमा पढ्न चाहेर पनि विद्यालय पुग्न नसकेका छात्राहरुले सजिलै पढ्न सक्ने अवस्था रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्णबहादुर रोकायाले बताए ।
निर्माण कार्य सम्पन्न हुन लागेको १६ कोठे छात्रावास भवन निर्माणका लागि युएमएन मुगुको ४५ लाख साहस नेपाल मुगुको २ लाख र असल छिमेकि नेपाल मुगुको दुई लाख गरि ४९ लाख रकम लगानी भएको विद्यालयका प्रधानाध्यापक गंगाराम जिसीले बताए । आउँदो बैशाखबाट सञ्चालनमा आउने छात्रावासमा ६४ जना छात्रा बस्न सक्ने छन भने उनिहरुका लागि एउटा अध्ययन गर्ने हल र एउटा चार वटा चुल्हो संगै वाल्न मिल्ने भान्सा समेत व्यवस्था हुने विद्यालयले जनाएको छ ।
माँग्री गाविसले छात्रावास भवनका लागि जग्गा उपलब्ध गराए पछि गैर सरकारी संस्थाको सहयोगमा निर्माण भएको छात्रावासमा कक्षा १ देखि १२ कक्षासम्मका छात्राहरुले बस्न पाउने भएका छन । अहिले पुलु, किम्री, डोल्फु र मुगु गाविसबाट माध्यामिक तहको अध्ययनका लागि विद्यालय भर्ना भएका छात्राहरु माँग्री गाउँमा आफन्तको घरमा बसेर पढिरहेको विद्यालयले जनाएको छ ।
 छात्रावास सञ्चालनमा आए सुरुमा खानाको व्यवस्था सम्बन्धित विद्यार्थीले नै गर्नु पर्ने हुन सक्छ तर सवै निकायको सहयोग भए त्यसको व्यवस्था गर्न कार्यालय पछि नहट्ने जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ । हिउँदमा चिसो र वर्षामा यार्सा गुम्बा टिप्न करान क्षेत्रका सवै जसो विद्यालय पढ्ने बालबालिका हिमाल तिर जाने गर्दा विद्यालय रित्ते हुन थाले पछि कार्यालयले पुलु गाविसको पुलुमा सरकारी खर्चमा आवासिय विद्यालय सञ्चालन गर्ने सोच दुई वर्ष अघि बनाए पनि जग्गा अभावका कारण सफल हुन नसकेको जिल्ला शिक्षा अधिकारी मान बहादुर घिमिरेले बताए । जिल्ला भरि रहेका २२ वटा माध्यामिक र अन्य प्रावि गरि कुल १ सय ३६ विद्यालय कुनैमा पनि आवासिय छात्रावासको व्यवस्था छैन । सदरमुकाम गमगढीमा रहेको महाकाली नमुना उच्च माविमा विशेष कक्षा अन्र्तगत स्थापना भएको सुस्त श्रवण भएका तथा प्रावि बाल मन्दिरमा रहेका दृष्टि विहिन विद्यार्थीका लागि मात्र आवासिय व्यवस्था छ ।

0 comments

बिचार लेख्नुहोस्..