खत्याड भेकका वस्तीमा आयोडिन युक्त नुनको अभाव
मुगु न्युज डट कम
माघ १५ मुगु
जिल्लाको पश्चिम खत्याड भेकका सात गाविसका गाउँ वस्तीहरुमा आयोडिन युक्त नुनको अभाव भएको छ ।
गाउँमा नुन नपुगेपछि दुई दिन पैदल हिडेर सदरमुकाम गमगढी स्थित कर्पोरेशनको वितरण केन्द्रमा नुन पाईन्छ कि भनेर पुगेका सुकाढिक गाविस वडा नम्बर १ का शिवलाल डाँगरले नुन पाउन सकेनन । कर्पोरेशनका शाखा प्रमुख ठाकुरले हिजो आज नुन वितरण बन्द भएकाले नुन दिन नमिल्ने भने पछी गमगढी बजारका पसलबाट पचास रुपैयाँको केजीमा किनेर घर फर्किनु परेको डाँगरले बताए । उनले भने , घरबाट आउन जान चार दिन लाग्छ तर गमगढी पुगेर एक केजी नुन समेत पाईएन , अन्तिममा बजारबाट पचास रुपैयाँ तिरेर एक पोका नुन किन्नु परेको छ ।
खत्याड भेकमा रहेका सेरी , श्रीकोट, गम्था, कोटडाँडा, खमाले,सुकाढिक र ह्याङ्गलु गाविसमा वार्षिक चार सय क्वीन्टल नुनको कोटा सरकारले निर्धारण गरेको भए पनि नुन ढुवानीको जिम्मा लिएको ठेकेदार कम्पनिले अहिलेसम्म नुन ढुवानी गर्न नसक्दा खत्याड भेकका स्थानीयवासी ढिके नुन खान बाध्य भएका छन ।
समयमा नै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले नुन ढुवानीको जिम्मा दिएको नुन पुग्न नसक्दा खत्याड भेकका झण्डै १८ सय घर धुरी ढिके नुन खान बाध्य भएका छन भने पसलमा राखिएको आयोडिन युक्त नुनको प्रति केजी पचास रुपैयाँमा किनिरहेका छन । नेपाल साल्ट टे«डिङ्क कर्पोरेशनको क्षेत्रिय कार्यालय नेपालगञ्जले खत्याड भेकका सात गाविसका लागि चार सय क्वीन्टल नुन ढुवानीको जिम्मा दिएको र गमगढीमा करान र गम भेकका दश गाविसका लागि मात्र नुन आउने हुँदा कर्पोरेशनको गमगढी विक्रि केन्द्रबाट भेक क्षेत्रमा नुन पठाउन नमिल्ने कर्पोरेशनका मुगु शाखा प्रमुख उपेन्द्र ठाकुरले बताए ।
कर्पोरेशनले वितरण गर्ने नुन नपुगे पछि ह्याँङ्गलु, सुकाढिक र कोटडाँडा गाविसका सर्व साधारणहरु बाजुराको कोल्टी पुगेर पचास रुपैयाँ केजी नुन किनेर ल्याउन बाध्य भएको स्थानीयवासीले बताएका छन ।
0 comments
बिचार लेख्नुहोस्..