मुर्मा गाउँका सत्तरी घरधुरी स्वास्थ्य सेवाबाट बञ्चित


मुगु न्युज डट कम
माघ १२ मुगु
सदरमुकाम गमगढी देखि तिन घण्टामा पुगिने रारा गाविसको वडा नम्बर ८ र ९ मुर्मा गाउँका सत्तरी घरधुरी न्युनतम स्वास्थ्य सेवाबाट बञ्चित हुँदै आएका छन ।
जिल्ला स्वास्थ्य कार्यालय मुगु मातहतको स्वास्थ्य चौंकि र प्रसुति गृह रारा गाविसको कच्चे गाउँमा रहेको तथा मुर्माबाट कच्चे जान पाँच घण्टा र गमगढी पुग्न तिन घण्टा समय लाग्ने भएकाले मुर्मा गाउँका स्थानीयवासी स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेको स्थानीयवासी डबलबहादुर रोकायाले बताए । गम्भीर विरामी भएको अवस्थामा गाउँमा युवाहरु भएको वेला सदरमुकाम गमगढी ल्याउनु पर्ने र मान्छे नभएको वेला ज्यान गुमाउनु पर्ने बाध्यता रहेको  रोकायाको भनाई छ । सवै भन्दा समस्या त गर्भवती महिलाका लागि हुने गरेको छ । अहिलेसम्म गाउँका सवै महिला घरमा नै सुत्केरी हुने गरेका छन । गाउँको स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मि हुँदैनन्, जिल्ला अस्पताल टाढा छ रोकायाले भने ।
 गाउँमा स्वास्थ्य चौंकि नभएको र सदरमुकाम तथा स्वास्थ्य चौंकि टाढा रहेकाले सामान्य विरामी हुँदा समेत सिटामोल समेत पाउन नसकेको स्थानीयवासीको भनाई छ ।
 २०६१ सालबाट हेल्प नेपालको सहयोगमा स्थानीय गैर सरकारी संस्था मुर्माटप सामुदायिक विकास केन्द्रले मुर्मा गाउँका लागि माझघट्टमा स्वास्थ्य चौंकि स्थापना गरि स्वास्थ्य सेवा सञ्चालन गरे पनि प्रभावकारी सेवा प्रवाह हुन सकेको छैन । अहिले स्वास्थ्य चौंकिमा अहेव एक जना , स्टाफ नर्श र अनमी एक एक जना रहे पनि एक हप्ता देखि उनिहरु हिडेपछि स्वास्थ्य चौंकि बन्द रहेको छ । हिमपात हुनु अगाडी नै अहेव भैरब बुढा, अनमी मुक्ति न्यौपाने हिडे पछि अहिलेसम्म नफर्केको तथा स्टाफ नर्श सोनाम लामा पनि लामो समय देखि अनुपस्थित रहेको कार्यालय सहयोगि विरबहादुर विकले बताए । उनले भने , मसंग साँचो छैन , पाँच छ दिन भयो , कार्यालयमा आउछु ढोका नखोलेरै फर्किन्छु ।
 स्वास्थ्य चौंकिका लागि ल्याईएको अक्शिजन प्रवाह गर्न राखिएका सिलिण्डर विद्युत अभावका कारण थन्किएको छ भने अधिकाँश समय स्वास्थ्यकर्मि नबस्ने हुँदा स्वास्थ्य चौकि बन्द रहने गरेको स्थानीयवासीको गुनासो रहेको छ ।
 गैर सरकारी संस्थाद्धारा सञ्चालन गरिएको स्वास्थ्य चौंकिलाई नै जिल्ला स्वास्थ्य कार्यालयले आबश्यक औषधी, स्वास्थ्यकर्मिलाई तालीम प्रदान गर्दै आईरहेको भए पनि तिन वर्ष यता हेल्प नेपालद्धारा सञ्चालित स्वास्थ चौकिका स्वास्थ्यकर्मि र स्थानीय संस्थाले समेत समन्वय समेत गर्न छोडेको जिल्ला स्वास्थ्य कार्यालय मुगुका निमित्त प्रमुख पशुराम नेपालीले बताए ।

, ,

0 comments

बिचार लेख्नुहोस्..