सरकारी विद्यालयमा विद्यार्थीलाई सौच गर्न समस्या÷ वार्षिक करोडको लगानी अलपत्र
मोहन कुमार मल्ल----
मुगु न्युज डट कम,
पौष २० मुगु--
जिल्लाका २४ वटै गाविसमा वातावरण मैत्रि विद्यालय हुनु पर्ने सवाल उठिरहेका वेला जिल्लाका अधिकाँश सरकारी विद्यालयमा खानेपानीको अभाव हुँदा विद्यार्थीलाई सौच गर्न समेत समस्या भईरहेको छ भने विद्यालयका लागि शौचालय र खानेपानीका योजनाका लागि सरकारी तथा गैर सरकारी निकायबाट गरिने करोड औंको लगानी अलपत्र पर्ने गरेको देखिएको छ ।
जिल्ला शिक्षा कार्यालय मुगु र अन्य गैर सरकारी निकायबाट शौचालय निर्माणका लागि लाखौ रकम खर्चिए पनि पानीको अभावका कारण शौचालय प्रयोग विहिन भएका छन । जिल्ला शिक्षा कार्यालय मुगुले गत वर्षमात्र २५ वटा विद्यालयका लागि शौचालय निर्माणका गर्न पचास लाख र बाह्य बातावरण अन्र्तगत खानेपानीका लागि ३० लाख खर्च भएको जनाएको छ । शौचालय र खानेपानी योजना निर्माण गर्दा कमसल निर्माण सामग्रीको प्रयोग , प्राविधिकको कमि हुँदा केहि समस्या रहेको जिल्ला शिक्षा कार्यालय मुगुका शाखा अधिकृत सुर्यबहादुर खत्रिले बताए उनले भने ,कार्यालयका लागि पाँच जना प्राविधिक आवश्यक रहे पनि अहिलेसम्म एक जना मात्र प्राविधिक रहेको तथा शौचालय र खानेपानी आयोजना दिगो नहुनुमा विद्यालय व्यवस्थापन समिति र समुदायको समेत कमजोरी रहेको खत्रिले बताए । नेपाल सरकार शिक्षा मन्त्रालयको विद्यालय सुधार योजना अन्र्तगत सञ्चालित कार्यक्रममा थप सहयोग गरिरहेको गैर सरकारी संस्था किर्डाक नेपाल मुगुले २४ वटै गाविसमा रहेका १ सय ३६ विद्यालयमा १ । १ लाखका दरले शौचालय निर्माणमा रकम खर्च गरिएको जनाएको छ । उसका अनुसार गत वर्ष किर्डाकको मात्र विद्यालयमा शौचालय तर्फ १ करोड ३६ लाख खर्च भएको देखिन्छ । किर्डाकका जिल्ला संयोजक पदमबहादुर मल्लका अनुसार सहयोग गर्ने निकायको फितलो अनुगमन प्रणाली र समुदाय जिम्मेवार नुहँदा यस्तो समस्या आएको हो ।
जिल्ला सदरमुकाम गमगढी आसपासका सरकारी विद्यालयहरुमा नै यस्तो समस्या देखिएको छ । सदरमुकाम गमगढी लगायत आसपासका गाविस कार्कीवाडा, श्रीनगर, पिना, रुगा र रोवा लगायतका गाविसमा रहेका सरकारी विद्यालयमा शौचालय बनेका भए पनि पर्याप्त खानेपानीको व्यवस्था नहुँदा विद्यार्थीहरुलाई दिसा पिसाब गर्न समस्या हुने गरेको विद्यार्थीहरुले बताएका छन । जिल्लामा रहेका १ सय ३६ विद्यालयहरुमा शौचालय निर्माण गरिएका भए पनि खानेपानीको व्यवस्था नहुँदा कतिपय शौचालयहरु प्रयोगमा नहुँदै भत्किएका छन भने कतिपय शौचालय जाम हुँदा भित्र पस्न सक्ने अवस्था समेत छैन । कति पय विद्यालयमा छात्र छात्राका लागि अलग अलग शौचालय नहुँदा छात्राहरुलाई समेत ठुलो समस्या हुने गरेको छ ।
सदरमुकाममा रहेको महाकाली उच्च माविमा शौचालय प्रशस्त भए पनि पानीकै अभावका कारण प्रयोग विहिन रहेको विद्यालयका प्राचार्य देबबहादुर मल्लले जानकारी दिए । उनले भने , पानीको व्यवस्था नहुँदा प्रयोग गरिएका चर्पिमा ढुंगा र कागज प्रयोग हुँदा शौचालय दुर्गन्धित बनेका छन भने एक हजार विद्यार्थीका लागि चारवटा मात्र शौचालय हुँदा थप समस्या व्यहोर्नु परिरहेको छ ।
सदरमुकामसंग रहेको अर्को निमावि भारेकोटमा रहेको शौचालय एक लाखको लगानीमा निर्माण गरिए पनि पानीको अभाव र व्यवसथापनको कमजोरीका कारण प्रयोगमा नआउदै तिन महिनामा नै भत्किएपछि विद्यार्थीलाई शौच गर्न खेतवारीका कान्ला कान्ला दौंडिनु पर्ने अवस्था छ । जिल्लाका सरकारी विद्यालयहरुमा शौचालयको अवस्थामात्र खराब छैन । घेरबार, भवन, फर्निचर अभाव देखिएको छ । सदरमुकाम नजिक रहेको पिना गाविसको नेपाल राष्टिय प्राथामिक विद्यालयमा त छात्र छात्राका लागि अलग अलग शौचालय बनेका छन पानीको अभावले प्रयोगमा छैनन् । गाविस, स्वास्थ्य चौकि, प्रसुति गृह र विद्यालय संगसंगै छन भने विद्यालयमा घेरबार नहुँदा विद्यालयको पठन पाठन कार्यमा अबरोध सिर्जना हुने गरेको विद्यालयका प्रधानाध्यापक सलबहादुर रावलले बताए । विद्यालयसंगै गाविस र स्वास्थ्य संस्था हुँदा विद्यालय समयमा अन्य मान्छे पनि विद्यालयबाट नै आवत जावत गर्ने तथ विद्यालयको चौरमा नै वस्ने हुँदा थप समस्या हुने गरेको रावलको भनाई छ ।

0 comments
बिचार लेख्नुहोस्..