सात वर्ष देखि एकैजना विद्यालयको अध्यक्ष – नाम मात्रको विद्यालय
सुमन मल्ल,
मुगु न्युज डट कम,
(माँग्री )मुगु, माघ ७
जनजातीहरुको मात्र वसोवास रहेको माँग्री गाउँ विकास समितिको मह गाउँमा रहेको जनकल्याण प्राथामिक विद्यालयमा सात वर्ष देखि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष एकै जनाले चलाउदै आएका छन भने विद्यालय स्थापना भए देखि प्रधानाध्यापक पनि अहिलेसम्म फेरबदल नभएको जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ ।
लामो समय देखि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फेर बदल नभएका र विद्यालयको शैक्षिक अवस्था विग्रिदै गएको स्थानीयवासीले बताएका छन । पाँच कक्षासम्मको पठन पाठन हुने यस विद्यालयका प्रधानाध्यापक हरिबहादुर विटालु विद्यालय स्थापना भएको २०३४ साल देखि कार्यारत रहे पनि विद्यालयमा कमै उपस्थित हुने गरेको उनिहरुको भनाई छ । विद्यालय स्थापना देखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका विटालु विद्यालयमा नजाने, व्यवस्थापन समितिले पनि केहि नबोल्ने गरे पछि विद्यालयमा अध्ययनरत आफ्ना बालबालिकाको पढाई विग्रिएको भन्दै अभिभावकहरुले गाउँमा रहेको निजी विद्यालयमा भर्ना गरेका छन ।
विद्यालय स्थापना भए देखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका विटालु विद्यालय गए नगएको कसैलाई जानकारी समेत छैन । उनि नेपाल रेडक्रस सोसाईटी मुगुका उप सभापतिका हैसियतले सदरमुकाममा हुने विभिन्न कार्यक्रम तथा रेडक्रसका कार्यक्रमहरुमा सहभागि हुने गरेका छन । उता विद्यालयमा तिन जना शिक्षकको दरबन्दि रहे पनि एउटा दरबन्दी रिक्त छ भने विटालु सदरमुकाममा नै बस्ने गरे पछि मह गाउँका स्थानीयवासी तथा शिक्षक कार्मा गुरु लामाले एक्लैले विद्यालय खोल्ने काम गरिरहेका छन । जिल्ला शिक्षा कार्यालय मुगुबाट अनुगमनका लागि गाउँ पुगेका जिल्ला शिक्षा अधिकारीसंग लामाले भने , विद्यालयमा आउने नआउने तथा काज वा विदाको कुनै जानकारी छैन , विटालु सर विरामी हुनुहुन्छ भन्ने सुनेको छु , विद्यालय व्यवस्थापन समितिका अध्यक्षले पनि केहि भनेका छैनन ।
सात वर्ष अघि देखि व्यवस्थापन समितिको अध्यक्ष पदमा रहँदै आएका राप्के लामाले भने विटालुले विरामी छु भनेका छन अब एक महिनाको विदा स्वीकृतीका लागि शिक्षा कार्यालयमा लेखि पठाउने तयारी भएको छ । विदा स्वीकृत नभए तिन महिनाको वेतलवी विदा हाल्नु पर्ने हुन्छ ।
विटालु २०७० भदौ २३ गते देखि हालसम्म अनुपस्थित देखिएकाले व्यवस्थापन समितिलाई बोधार्थ सहित उनलाई स्पष्टिकरण सोधिने जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ । कार्यालयबाट अनुगमन गर्दा लामो समयसम्म विद्यालय नपुगेको पाईएको कार्यालयले जनाए पनि विटालुले आफु अहिले पनि हिडडुल गर्न नसक्ने अवस्था रहेको तथा दशै तिहारको विदा बाहेक अरु दिन विद्यालय गएको दावी गरे ।
कार्यालयका अनुसार बर्षको दुई सय दिनका लागि विद्यालयमा जाने दिवा खाजा समेत नखुवाईएको पाईएको छ । १ सय ६० घर धुरीका लागि सञ्चालनमा रहेको यो विद्यालयमा एक देखि पाँच कक्षासम्म पढाई हुने गरेको छ भने विद्यालयमा अहिले २२ छात्रा र ११ छात्र गरि ३३ जना विद्यार्थी मात्र रहेका छन । दुई सय दिनका लागि प्रति दिन १५ रुपैयाँका लागि जाने ९९ हजार रकम र छात्रावृतीको रकम समेत विद्यालयमा नपुगेर हिनामिना भएको कार्यालयले जनाएको छ । एकै विद्यालयमा लामो समय देखि बसेका विटालुले विद्यालयको शैक्षिक अवस्था , पुर्वाधारको अवस्था सुधार गर्न नसकेको कार्यालयको बुझाई छ । स्थानीयवासी , व्यवस्थापन समिति र प्रधानाध्यापकको लार्पवाहीका कारण विद्यालयको अवस्था विग्रिदै गए पनि शिक्षा कार्यालयले कुनै प्रकारको भुमिका निर्वाह गर्न सकेको छैन ।
0 comments
बिचार लेख्नुहोस्..