ल्होसारमा धनुष बाण प्रतियोगिता
मुगु न्युज डट कम ,
माघ १८ मुगु--------------
जिल्लाको पुर्वि भेक करानका पाँच गाविसका बौद्ध मार्गीहरु ल्होसार पर्वको अवसरमा खानपिनसंगै धनुष बाण प्रतियोगितामा रमाईरहेका छन ।
ल्होसार अर्थात बौद्ध धर्मालम्बीहरुको नयाँ वर्ष शुक्रबार देखि सुरु भएको छ भने युवाहरुलाई धनुषबाण प्रतियोगिताले अझै व्यस्त बनाएको छ । उनिहरुको सर्प वर्षको विदाई र घोडा वर्षको स्वागत गर्ने क्रममा उनिहरुले तिन दिनसम्म मनाउने गर्दछन । उनिहरुको विदाई गर्ने महिना ठाईला ( सोनाम ल्होसार ) र स्वागत गर्ने महिना पेला ( ग्याल्बो ल्होसार) हो । विदाई गर्ने महिनाको सुरुमा तिन दिन र स्वागत गर्ने महिना पेलाको सुरुमा पनि तिन दिनसम्म पर्वका रुपमा मनाउने परम्परा रहेको किम्री गाविसका स्थानीय युवा आङडाक लामाले बताए ।
नयाँ वर्षका अवसर अर्थात सोनाम ल्होसारमा उनिहरु स परिवार आफन्तका घरमा जाने मिठो मसिनो खाने , पाहुनाको स्वागत स्वरुप छ्याँग अर्थात अन्न कुहाएर बनाईएको जाँड दिने परम्परा छ । युवाहरुले दुई समुह बनाएर दा तेप्चे अर्थात धनु हान्ने प्रतियोगिता हुने गर्दछ । प्रतियोगितामा उनिहरु दुई समुहमा विभाजन हुन्छन भने जित्नेले प्रति व्यक्ति दुई सय र हार्नेले दुई सय तिर्नु पर्छ । निश्चित निसानामा जसले धनुबाण लगाउन सक्छ उसले खेलमा सहभागि भएका सवैबाट दुई दुई सयका दरले लिने तथा एक सय आफुसंग राख्ने र एकसया समुहमा जम्मा गरि सवै युवा बसेर खानपिन गर्ने परम्परा रहेको किम्री गाविस वडा नम्बर ६ खारी गाउँका ग्याम्जो लामाले बताए । प्रत्येक युवाले आ आफ्नो घरबाट धनुबाण ल्याएर प्रतियोगितामा सहभागिता जनाउने गर्दछन , कहिले एक दुई दिन त कहिले तिनै दिनसम्म प्रतियोगिता हुने गर्छ ।
कसैको घरमा शोक अर्थात मृत्यु भएको छ भने उनिहरुले ल्होसार पर्व मनाउदैनन ,त्यो घरका युवाहरु पनि प्रतियोगितामा सहभागि हुँदैनन । पर्व मनाउनेहरुले नमनाउने घरका सबै सदस्यलाई आफ्नो घरमा बोलाएर खानपिन गर्ने , रमाईलो गरि उनिहरुलाई मनोरञ्जन दिने परम्परा रहेको ग्याम्जोले बताए । सदरमुकाम गमगढीमा समेत बौद्ध धर्मालम्बीहरुको बसोवास रहेकाले उनिहरुले गमगढीमा नै पर्व मनाउने गरिरहेका छन ।

0 comments
बिचार लेख्नुहोस्..