शिक्षकले पालो पहरा गरे पछि विद्यार्थी निजी विद्यालयमा


मुगु न्युज डट कम,
माघ २९ मुगु-----------
सदरमुकाम गमगढी नजिक रहेको नव आदर्श प्राथामिक विद्यालय माथी तुममा कार्यारत दुई जना शिक्षकले विद्यालयमा पालो पहेरा गरेर विद्यालय आउन थालेपछि अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई सदरमुकाम गमगढीमा रहेका नीजि विद्यालयमा भर्ना गर्न बाध्य भएका छन ।
एक कक्षा देखि ३ कक्षासम्म पठन पाठन हुने यो विद्यालयमा कार्यारत प्रधानाध्यापक भिमबहादुर रावल र सहायक शिक्षक शर्मीला कँडेलले दुई तिन महिनाको पालै पालो गरेर विद्यालय आउने गरेपछि ४८ घरधुरी रहेको माथी तुम गाउँका स्थानीयवासीले बालबालिकाको पढाई विग्रन थालेको भन्दै सदरमुकाममा रहेका निजी विद्यालयमा पठाउन थालेको स्थानीयवासीले बताएका छन । यसरी शिक्षकले विद्यालय आउन छोडे पछि विद्यालय आउने बालबालिकाको संख्या १७ मात्र रहेको छ । शिक्षक नियमित हुँदा गाउँमा रहेका तिन दर्जन बढि बालबालिका दैनिक उपस्थित हुने गरेका अभिभावकको भनाई छ ।
दशै तिहारको विदासंगै घर विदामा गएकि विद्यालयकी शिक्षिका कडेल पुसको अन्तमा विद्यालयमा आईपुगे पछि प्रधानाध्यापक रावल विदामा गएको स्थानीयवासीले बताएकाछन । वर्ष भरि नै शिक्षकले पालो पहेरा गर्दा एक जनाको भरमा विद्यालय चल्ने गरेको स्थानीयवासीले बताएका छन । यो विद्यालय जस्तै सदरमुकाम नजिक रहेको कर्णाली प्रावि घाट लगायतका जिल्ला भरिमा धेरै विद्यालय रहेका र विद्यार्थी शिक्षक अनुपात समेत नमिलेकाले अब छिट्टै यस्ता विद्यालय गाभिने तयारी भईरहेको जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ । शिक्षक विद्यार्थी अनुपात नमिलेका विद्यालयहरुलाई नजिकको अर्को विद्यालयसंग गाभ्ने गरि निर्देशिका बनिरहेको र अबको एक हप्तामा निर्देशिका आए विद्यालय गाभ्ने कार्य सुरु हुने जिल्ला शिक्षा कार्यालय मुगुका सुचना अधिकारी एवं शाखा अधिकृत सुर्यबहादुर खत्रिले बताए ।
 शिक्षक बढि विद्यार्थी कम भएका विद्यालय गाभिए पठनपाठन नियमित हुनुका साथै शिक्षक विद्यार्थी अनुपात मिल्ने कार्यालयको भनाई छ ।

0 comments

बिचार लेख्नुहोस्..