विदा सकिएको पन्ध्र दिन पुगे पनि विद्यालय खुलेनन
मुगु न्युज डट कम ,
फागुन १ मुगु-----------
जिल्लाको पुर्वि करान भेकमा पर्ने मुगु, किम्री, डोल्फु र पुलु गाविसमा एक महिने हिउँदे विदा सकिएको पन्ध्र दिन पुगिसक्दा पनि विद्यालयहरु अझै खुलेका छैनन ।
जिल्लाका खत्याड, सोरु र गम भेकमा सञ्चालित सरकारी विद्यालयमा वर्षे विदा हुने भए पनि पुर्वि करान भेकका चार गाविसमा रहेका सरकारी विद्यालयमा चिसोका कारण हिउँदे विदा हुने गरेको छ । पौष १५ देखि माघ १५ सम्म एक महिनाका लागि विदा गरिएका विद्यालयका शिक्षक नफर्केका र चिसोका कारण त्यस क्षेत्रका अधिकाँश स्थानीयवासी औल ( वेसी ) बसाई सरेका कारण फागुन लागि सक्दा पनि विद्यालय बन्द रहेको स्थानीयवासीले बताएका छन ।
दशै तिहारको वेला सरकारी विद्यालय १५ दिन विदा हुने भए पनि त्यस क्षेत्रका विद्यालय दशै समेत खुलेकाले सोही विदा अहिले मिलान गर्दा फगुन पहिलो हप्तासम्म विद्यालय नखुलेको जिल्ला शिक्षाका एक कर्मचारीले बताए । तर दशैको विदालाई हिउँदे विदासंग गाभ्न नमिल्ने र त्यसो गरिएको पाईए सम्बन्धित विद्यालयका शिक्षकलाई कारवाहीको दायरामा ल्याईने जिल्ला शिक्षा कार्यालय मुगुका सुचना अधिकारी सुर्यबहादुर खत्रिले जानकारी दिए ।
करान क्षेत्रका सरकारी विद्यालयहरुमा वर्षको चार महिनामात्र पढाई हुने गरेको छ । हिउँदमा चिसोका कारण स्थानीयवासीहरु अस्थायी वसाई सराई गरि वेसीमा झर्ने र वैशाखमा गाउँ फर्किन्छन भने जेठ देखि यार्सा गुम्बा संकलन गर्न बालबालिका सहित हिमालमा उक्लिने गर्दा यस क्षेत्रका विद्यालय वर्ष भरि नै बन्द हुने गरेका छन । जिल्ला शिक्षा कार्यालयले यहाँका विद्यालयहरुमा नियमित पठनपाठन गर्न आवासिय विद्यालय बनाउने अबधारणा दुई वर्ष अघि ल्याए पनि सफल हुन सकेको छैन । स्थानीयवासीले पढाई भन्दा व्यापारलाई प्राथामिकता दिएकाले यो अवधारणा पनि सफल हुन नसकेको कार्यालयले जनाएको छ ।
0 comments
बिचार लेख्नुहोस्..