विद्यालयद्धारा छात्रावृत्तीको रकम परिक्षा व्यवस्थापनमा खर्च


सुमन मल्ल ,
मुगु न्युज डट कम -
माघ २१ मुगु-------
जिल्लाको उत्तरी क्षेत्र सोरु भेकमा पर्ने जनज्योति उच्च माध्यामिक विद्यालय नार्थपुले आर्थिक वर्ष २०६९। ०७० मा विद्यालयमा अध्ययनरत छात्रा तथा दलित विद्यार्थीले पाउनु पर्ने छात्रवृत्ती रकम २०६९ मा सञ्चालित एसएलसी परिक्षाको व्यवस्थापनका नाममा खर्च गरिएको पाईएको छ ।
 विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष जनकबहादुर शाही र प्रधानाध्यापक  सुभाषचन्द्र मिश्रको मिलेमतो विद्यालयमा अध्ययनरत प्राथामिक तह देखि माध्यामिक तहसम्म अध्ययनरत छात्रा तथा दलित विद्यार्थीले पाउनु पर्ने १ लाख ६४ हजार ३ सय र दिवा खाजाको रकम १ लाख १५ हजार गरि २ लाख ८ हजार रुपैयाँ गएको वर्षको एसएलसी परिक्षा सञ्चालन गर्दा  परिक्षामा खटिएका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष तथा अन्य निरिक्षकहरुका लागि खर्च गरिएको पाईएको छ भने अहिलेसम्म विद्यालयको लेखा परिक्षण समेत नगराएको पाईएको छ । एसएलसीको परिक्षा केन्द्र विद्यालयमा हुँदा परिक्षा फितलो गराई शतप्रतिशत परिक्षार्थी उतिर्ण गराउने लक्ष्यका साथ विद्यार्थीको छात्रावृत्तिको रकम खर्च गरिएको स्थानीयवासीले बताएका छन ।
प्राथामिक तह तर्फ दलित विद्यार्थीको छात्रवृती २२ हजार ४ सय, छात्रा छात्रवृती १ लाख ११ हजार ४ सय ७० तथा माध्यामिक तह तर्फ दलित विद्यार्थी छात्रवृती १० हजार र छात्रा छात्रवृती  २० हजार ४ सय रकम परिक्षा व्यवस्थापनमा खर्च गरे पछि विद्यार्थीहरु छात्रावृतीबाट बञ्चित भएका हुन । २०६९ चैत्र २२ गते नरजंग शाहीका नाममा चेक नम्बर ०७१७०९८  बाट १ लाख ५० हजार , २२ गते नै चेक नम्बर ०१७१७०८३ बाट ५० हजार र २०७० वैशाख १७ गते प्रेम मल्लका नाममा  चेक नम्बर ०७१७०८५ बाट ८० हजार रकम झिकिएको पाईएको छ ।
यसो त विद्यालयले प्राथामिक तहका विद्यार्थीलाई सरकारले प्रदान गर्ने दिवा खाजाको रकम समेत हिनामिना गरेको पाईएको छ ।   आर्थिक वर्ष २०६९ । ०७० मा विद्यालयमा गएको दिवा खाजाको  ४ लाख २९ हजार ६ सय रुपैयाअँ समेत हिनामिना गरिएको  पाईएको छ । प्रधानाध्यापक मिश्रले आफु विरामी भई उपचार गर्न गएका वेला समितिले बैंक खाता बदलेर रकम झिकेको बताए । उनले भने , रकम अशुलीको प्रक्रिया अघि बढिरहेकाले हिनामिना भएको छात्रवृतीको रकम फिर्ता हुने छ ।  विद्यालय व्यवस्थापन समितिका वर्तमान अध्यक्ष मञ्जन शाहीले भने , यो विषयमा जिल्ला प्रशासन कार्यालय मुगु मार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा परे पनि सुनुवाई हुन सकेको छैन अब समितिले जसरी पनि रकम असुल गर्न पहल गर्ने छ । विद्यालयमा भएको आर्थिक अनियमितताका विषयमा जिल्ला प्रशासन कार्यालय मुगुमा २०६९ चैत्र  १५ गते उजुरी परे पनि त्यसको कुनै प्रतिक्रिया नआएको स्थानीयवासीले बताएका छन ।
 नार्थपु उच्च माध्यामिक विद्यालयमा भएको आर्थिक अनियमितताका विषयमा स्थानीयवासीले जिल्ला शिक्षा कार्यालय मुगुमा धर्ना समेत गरेका थिए तर कार्यालयले थामथुम लगाएर फिर्ता पठाएको विद्यालय व्यवस्थापन समितीका पदाधिकारीहरुले बताएका छन भने यो विषयलाई राजनीतिक दलहरुले पनि पक्ष र विपक्ष भएर लाग्दा उपलब्धी परिणाममुखि हुन नसकेको स्थानीयको आरोप छ ।

0 comments

बिचार लेख्नुहोस्..