चालु आर्थिक वर्षको माघसम्म १२ करोड मात्र खर्च


मुगु न्युज डट कम,
माघ २१ मुगु------------
आर्थिक वर्ष २०७०। ०७१ का लागि अहिलेसम्म जिल्लामा आएको करिब पचास करोड रकम मध्य माघ अन्त्यसम्म १२ करोड मात्र खर्च भएको छ ।
आर्थिक वर्षको दोस्रो चौमासिकसम्म जिल्लामा आएको कुल पुजिगत बजेट ४९ करोड २३ लाख ६ हजार आएको भए पनि अहिलेसम्म १२ करोड ७१ हजार ४ सय ९४ रुपैयाँ मात्र खर्च हुन सकेको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुले जनाएको छ । चालु आर्थिक वर्षको सुरुमा नै बजेट आए पनि संविधान सभा निर्वाचनका कारण बजेट खर्च हुन नसकेको बताईएको छ । तर सुरुमा निर्वाचनको कारण देखाए पनि निर्वाचन सकिदा वितिक्कै सरकारी कार्यालयका प्रमुख र अन्य कर्मचारीहरुले जिल्ला छोडे पछि बजेट खर्च हुन नसकिएको कतिपयको बुझाई छ ।
अहिले पनि जिल्लामा रहेका तिन दर्जन सरकारी कार्यालय मध्य १७ वटा कार्यालयका कार्यालय प्रमुख योजना अधिकृत , लेखा अधिकृतहरु छैनन । आएको बजेट परिचालन हुन सकेको छैन । सबै भन्दा बढि बजेट आउने जिल्ला विकास समिति, जिल्ला स्वास्थ्य, शिक्षा खानेपानी , कृषि लगायतका सरकारी कार्यालयमा आएको पुँजिगत बजेट खर्च हुन सकेको छैन । जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयको १६ लाख मध्य हालसम्म ६ लाख ६१ हजार ३ सय ४० रुपैयाँ खर्च भएको छ भने जिविसको २ करोड १९ लाख ८० हजार मध्य ५० लाख ८९ हजार ८ सय ७३ रुपैयाँमात्र खर्च भएको छ । त्यस्तै जिल्ला प्राविधिक कार्यालयको ५० लाख मध्य ४ लाख र जिल्ला स्वास्थ्य कार्यालयको ३४ लाख मध्य ७ लाख ७० हजारमात्र खर्च हुन सकेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । अगाडी आएको बजेट अहिलेसम्म कार्यालय प्रमुख नभएका कारण खर्च हुन सकेको छैन भने पुन थप भएर आउने बजेट बाँकि चार महिनामा कसरी  खर्च होला भन्नेमा सर्वसाधारणले प्रश्न गरिरहेका छन ।
बजेट आएको वेला कार्यालय प्रमुख नहुँने , विकास निर्माणका काम गर्ने समय र खेतिपातीको समय एकै साथ हुने गर्दा पनि वर्षेनी जिल्लामा आएको बजेट खर्च नभएर फिर्ता जाने गरेको छ । जिल्ला बाहिर रहेका सरकारी कार्यालयका प्रमुखहरु अब जिल्ला परिषदको वेला फागुनमा आउने र परिषद पछि पुन समिक्षा गोष्ठी , कार्यक्रम स्वीकृत गराउन भन्दै राजधानी गएपछि एकै चोटि बैशाखको अन्त्य तिर जिल्ला फर्किने परम्परा भने नौलो होईन । आर्थिक वर्षको सुरु देखि आएको बजेट एकै पटक आर्थिक वर्षको अन्तिममा खर्च गर्न खोज्दा वर्षेनी करोड औ रकम कामै नगरेर दुरुपयोग तथा राजनीतिक भागबण्डा गरेर खर्च देखाउने परम्परा छ ।

0 comments

बिचार लेख्नुहोस्..